चीन जाने प्रतिक्षामा ‘रुपसी र भद्र’

२०७५ असार २७ गते, बुधबार

काठमाडौं, २७ असार । नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागेको दुर्लभ एकसिङे गैंडाको एकजोडी ‘रुपसी र भद्र’ काठमाडौं ल्याइएको छ । चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाइ गरिएको गैंडा मंगलबार राति काठमाडौं ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंडा सहजरुपमा काठमाडौं भित्र्याइएको जानकारी दिए । काठमाडौं ल्याइएको गैंडा चीन पठाउने तयारी भइरहेको छ । अहिले उक्त गैंडाको जोडीलाई ललितपुरको खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयमा राखिएको छ ।
वि.सं. २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुईजोडी गैंडा उपहार दिने निर्णय गरेको थियो । त्यसको ठिक दुई वर्षपछि बिहीबार एकजोडी गैंडा चीनलाई उपहारस्वरुप प्रदान गरिँदैछ । सरकारले पोथी गैंडाको नाम रुपसी र भालेको नाम भद्र राखेको छ । ‘सडकमा हुनसक्ने विभिन्न अवरोधलाई ध्यानमा राखेर गैंडालाई एक दिनअगावै काठमाडौं ल्याइएको हो’–चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने । उनीपनि गैंडासँगै काठमाडौं आएका छन् ।
‘बाटोमा कुनै समस्या भएन । सहजरुपमा गैंडा काठमाडौं ल्याइयो’–उनले भने–‘भोलि चीन पठाउने तयारीमा जुटेका छौं ।’ बाटोमा घाँस, केरा, बन्दागोभी, स्याउ र पानी खुवाउँदै गैंडा ल्याइएको हो । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सहसेनानी शिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैंडालाई ‘स्कर्टिङ’ गरेको थियो ।
काठको खोरभित्र राखिएको भद्रलाई ना५ख ७९९६ नम्बर र रुपसीलाई ना७ख १२७० नम्बरको ट्रकमा हालेर ल्याइएको हो । गैंडा ल्याउन चितवन निकुञ्जका प्रमुख ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख अर्यालको नेतृत्वमा भेटेरीनरी प्राविधिज्ञ, वन्यजन्तु प्राविधिज्ञ, मिस्त्री, संरक्षणकर्मी, तथा नेपाली सेना गरी ३५ जनाको टोली सहभागी थियो । पशु चिकित्सकसहित तीनजना चिनियाँ प्रतिनिधि पनि टोलीमा थिए । ‘गैंडालाई चाहिने खानेकुरा र आवश्यक जनशक्तिसहित हामी गैंडा लिएर आएका छौं । बीचमा समस्या परे तत्कालै समाधान गर्ने टिम सँगै छ’–कोषका चितवन प्रमुख अर्यालले भने । घाँस काट्ने मान्छे, खोर बनाउने मिस्त्री, उपचारका लागि औषधिसहितका चिकित्सकसँगै ल्याएको अर्याल बताउँछन् । बाटोमा ठाउँठाउँमा गाडी रोकेर गैंडालाई दाना पानी खुवाइएको थियो । बेलाबेलामा गर्मीबाट जोगाउन नुहाइदिँदै गैंडालाई काठमाडौं ल्याइएको हो । रुपसी र भद्रलाई चीनको चिमोलङ सफारीपार्कमा राखिनेछ । बाँकी एकजोडी गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोषको निगरानीमा कोषकै प्रांगणमा बनाइएको पिट बोमा (सानो खोर)मा राखिएको छ ।
सरकारी निर्णयअनुसार उक्त जोडी गैंडालाई आगामी आर्थिक वर्षमा पठाइनेछ । काठमाडौंबाट गैंडालाई विशेष कार्गो जहाजमा चीन पठाइनेछ । केही समय गैंडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैंडासँगै चीन जाँदैछन् । चीनमा गैंडाको आवश्यक चिकित्सकीय सेवा र उसको स्याहार सुसारमा यहाँ भएका प्रक्रियाबारे चिनियाँ प्रतिनिधिलाई सिकाइने रिजालले बताए ।
गएको वैशाख १५ गते अन्दाजी दुई वर्षको भद्रलाई निकुञ्जको पश्चिम क्षेत्र खोरीया मुहान र वैशाख १७ गते रुपसीलाई सुकिभार क्षेत्रबाट समातेर ल्याइएको थियो । नेपालले अहिलेसम्म विभिन्न देशमा गरेर २६ गैंडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिङे गैंडा नेपाल र भारतमामात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ ओटा गैंडा रहेको छ । चितवनमामात्रै ६०५ गैंडा रहेको तथ्यांक छ । -नारायण ढुंगाना (रासस)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार