चीनलाई गैँडा उपहार पठाइदै

२०७५ श्रावण १९ गते, शनिबार

काठमाडौँ, १९ साउन । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको र गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको बताए । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम ‘सोल्टी’ र डेढदेखि दुई वर्षको पोथीको नाम ‘मितिनी’ राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो । निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ ।
निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने बताएका छन् । यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए । सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा २ जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।

प्रतिक्रियाहरु