चिनियाँ राष्ट्रपति सी जिनपिङको भब्य स्वागत

२०७६ आश्विन २६ गते, आईतवार

काठमाडौं, २५ असोज । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने औपचारिक भ्रमणका लागि शनिबार भारतको चेन्नाई हुँदै नेपाल आएका छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको छन । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी विमानको ढोकै अगाडि पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । विमान ओर्लिएको स्थानबाट अति विशिष्ट कक्षसम्म उनी चीनबाटै ल्याइएको गाडी चढेर आएका थिए । त्यहाँ राष्ट्रपति सीलाई पञ्चकन्याले पनि फूलका मालाले स्वागत गरेका थिए । त्यसपछि विमानस्थलमा रहेको नेपाली सेनाको व्यारेकस्थलमा सीलाई सेनाको टोलीले २१ तोपको सलामी दिएको थियो । सो अवसरमा दुवै देशको राष्ट्रिय गानको धून पनि बजाइएको थियो । सलामीपछि सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले सीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका वरिष्ठ मन्त्रीलगायतसँग परिचय गराएकी थिइन् । विमानस्थल परिसर र वरपर कलाकारहरुले नेपालको भौगोलिक पहिचान झल्किने परम्परागत नाचसहित सीको स्वागत गरेका थिए । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । त्यसपछि राष्ट्रपति सी विमानस्थलबाट सीधै होटल सोल्टी क्राउनप्लाजा प्रस्थान गरेका थिए । होटलमा केहीबेर आराम गरेर राष्ट्रपति सी समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवासमा पुगेका थिए । आफ्नो समकक्षीलाई भेटेपछि राष्ट्रपति सी फेरि होटल सोल्टीमै फर्किए ।
होटल सोल्टीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरे । देउवासँगको भेटवार्ताका लागि करिब सात मिनेट समय छुट्याइएको थियो ।
त्यसपछि राष्ट्रपति सी जिनपिङ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी भए । रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधन गरेका थिए ।
रात्रिभोजमा राष्ट्रपति विद्या भण्डारीले गरेकाे सम्बोधनको पूर्ण विवरण :
“महामहिमज्यू,
निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरु एवं सबै चिनियाँ मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । साथै शताब्दीका दुई महान् लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ ।
महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौँ सङ्घसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।
महामहिमज्यू,
गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ । महामहिमको सुन्दर गृहनगर तथा रेशममार्गको उद्गमस्थल सियान शहरबाट शुरु भएको मेरो भ्रमण अवधिभर मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यताका लागि म कृतज्ञ छु । उक्त भ्रमणका अवसरमा महामहिमसँग भएका भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ । अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकाङ्क्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु । उक्त फोरमको लिडर्स राउण्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ । यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पु¥याएको योगदानको स्मरण गर्दछु ।
महामहिमज्यू,
नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन् । हामीबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् । पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ । हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन् ।
महामहिमज्यू,
नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ । चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नाका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएका छौँ । सीमावारपार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ । नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् । रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।
महामहिमज्यू,
महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकताका साथ राखेका छाँै । हामीले जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्मका लागि मध्यम आय भएका मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौँ । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोत, साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ । भूकम्पपश्चात्को पुनःनिर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौँ । जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रयास केन्द्रीकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महीनामा काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ । सो कार्यक्रममा चीन सरकारका उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।
महामहिमज्यू,
शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा नेपाल र चीनसँगै उभिँदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालहरुमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौती बेहोर्नुपरेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरुको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले निर्वाह गर्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछाँै ।
महामहिमज्यू,
भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । व्यापार, लगानी तथा आर्थिक अन्तरनिर्भरताले हामीलाई साझा भविष्यका लागि सहकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिबद्ध छौँ । यिनै शब्दहरुका साथ म महामहिमको सुस्वास्थ्य र खुशीका लागि, नेपाल र चीनबीच बलियो मित्रताका लागि, नेपाल तथा जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि टोष्ट प्रस्ताव गर्न चाहन्छु र उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुलाई यसमा सरिक हुन आह्वान गर्दछु ।
नेपाल–चीन मित्रता अमर रहोस् ।
धेरै धेरै धन्यवाद ।”

त्यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको हिजोको रात्रीभोजको सम्वोधनको पूर्ण पाठ(नेपाली अनुवाद) :
“नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं
चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुवीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको वीचमा केही समस्या छैन, मित्रता मात्र छ । सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशवीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।
हामीले चीन-नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।
मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ । भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनतावीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरुलाई भगिनी शहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशवीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।
भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान-प्रदानका लागि पनि आउनेछन् । मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।

वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्वोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।
मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरुसँग हामीले मतेक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरुसँग मिलेर चीन र नेपालवीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदान-प्रदान गर्नेछु ।
म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।
हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं ।
अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालवीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स !”
यसैगरी , प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनीतिक दलका नेताहरुले भने राष्ट्रपति सीलाई आइतबाार भेट्ने कार्यक्रम छ । सबै भेटवार्ता सी बसेको होटल सोल्टीमै हुने छ । आइतबार राष्ट्रपति सीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि नेपाल र चीनबीच हुने केही द्वीपक्षीय सम्झौताको हस्ताक्षर कार्यक्रममा राष्ट्रपति सी सहभागी हुने छन् । नेपालमा करिब २० घण्टा बिताएर राष्ट्रपति सी आइतबार स्वदेश फर्किने छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु