चिकित्सक संघद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय

२०७५ श्रावण २ गते, बुधबार

काठमाडौँ, २ साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो । साथै राजधानीमा रहेका स्वास्थ्यकर्मीहरु दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएर प्रदर्शन गर्नेसमेत जनाइएको छ । ‘एक दिन बन्द गर्दा देशभरका स्वास्थ्यकर्मीको आवाज सरकारले सुन्छ भने हामी त्यसको लागि तयार छौं’ बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ‘एक दिने बन्दपछि पनि सरकारले चासो नदिएमा त्यसपछि अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने छौं ।’
डा. केसीले सरकारले हालै संसदमा पेश गरेको मेडिकल शिक्षा सम्बन्धी विधेयक फिर्ता लिएर यसअघि डा. केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गरेका छन् ।

प्रतिक्रियाहरु