घोडामा सवार व्यक्तिलाई पनि मापसेबापत जरिवाना

२०७४ फाल्गुन १५ गते, मंगलवार

काठमाडौँ, १५ फागुन । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउन विभिन्न मुलुकमा रोक लगाइएको छ । तर मापसे गरेर घोडामा सवार व्यक्तिलाई पनि भारी रकम जरिवाना गरिएको घटना भने धेरैलाई अनौठो लाग्न सक्छ । कयौं मुलुकमा मापसे गरी सवारी साधन चलाउनु अपराध मानिन्छ र त्यसबापत चालकले सजाय तथा जरिवानासमेत तिर्नु पर्दछ । अमेरिकाको क्यालिफोर्नियामा भने मापसे गरेर घोडामा सवार भएका एक व्यक्तिलाई दण्डित गरिएको छ ।
समाचार एजेन्सीहरुका अनुसार २९ वर्षीय लुइस परेजलाई मापसे गरी व्यस्त सडकमा घोडा दौडाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणपछि उनको शरीरमा निर्धारित मापदण्डभन्दा दोब्बर बढी अल्कोहल पाइएको प्रहरीले जनाएको छ ।
क्यालिफोर्नियाको हाइवे प्रहरीले उनलाई ५० हजार डलर जरिवाना तोकेको छ । प्रहरीले उनीमाथि गरिएको कारवाहीबारे ट्वीटरमा जानकारी दिएको हो । प्रहरीका अनुसार लुइसले मापसे गरी सडकमा घोडा दौडाउँदा कसैलाई कुनै प्रकारको हानी–नोक्सानी भएको थिएन तर मापसे गरेका कारण उनीमाथि कडा कारवाही गरिएको हो ।
मापसे गरेर कसैले पनि जनावरको जीवन खतरामा पार्न नमिल्ने भन्दै प्रहरीले भनेको छ, ‘सडक सबैको साझा हो, नशामा तपाई कार चलाउनुस् या घोडा चढ्नुस्, दुवै उस्तै अपराध हो ।’ -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु