घुस्याहा वडा सदस्य पक्राउ

२०७६ जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं, १७ जेठ । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एकजना वडासदस्यलाई शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घुससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडासदस्य रामचन्द्र राय यादवलाई ठेकेदारसँग घुस लिँदैगर्दा पक्राउ गरेको हो । सो गाउँपालिका–४ मा रु १० लाखको लागतमा निर्माण भइरहेको ‘जानकी धर्मशाला चकवा’ निर्माणमा वडासदस्य यादवले ठेकेदारलाई घुस माग्दै निर्माणमा अवरोध गरिरहेको बेला ठेकेदारले ३६ हजार घुस दिने भएपछि वडासदस्य यादवले निर्माण गराउन मानेको बताइएको छ ।
वडासदस्य यादवले सो घुस रकम आफ्नो गाउँपालिकाको क्षेत्रभित्र नभएर जलेश्वर नगरपालिका–१ स्थित शलहेशचोकमा रहेको सनी किराना पसलमा लिने भनेपछि शुक्रबार बिहान करिब ९ बजे अख्तियारको टोलीले सोही ठाउँबाट पक्राउ गरेको हो । वडासदस्य यादवलाई आयोगको बर्दिबासको टोलीले आवश्यक कारबाहीका लागि आफूसँगै लगेको छ । -रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु