घाइतेहरुको उपचारमा प्रहरीको अवरोध , नेकपाद्वारा निन्दा

२०७६ जेष्ठ २४ गते, शुक्रबार

काठमाडौँ , २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीले विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै ओली–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् ।
प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो । त्यसप्रकारको सरकारी अपराधको विरुद्ध पार्टीले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनु भएको छ । तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ ।’
विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नकोलागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् ।

प्रतिक्रियाहरु