घलेगाउँ महोत्सव वैशाख २३ देखि

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ बैशाख । लमजुङको घलेगाउँमा १९ औं ‘घलेगाउँ महोत्सव’ हुने भएको छ । महोत्सव यही वैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने छ । सार्क राष्ट्रको नमूना पर्यटकीय गाउँलाई सुखी र समृद्ध बनाउन महोत्सव आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, ग्रामिण पर्यटन घलेगाउँले जानकारी दिएको छ । हिमालै हिमालको काखमा रहेको करिब छ सय वर्ष पुरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ ।
यस्तै सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यु टावरलगायत घलेगाउँका आकर्षण हुन् । १३ घरबाट सुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ । दक्षिण एसियाकै नमूना गाउँका रूपमा विकास भएको घलेगाउँमा पर्यटकको आगमनसँगै स्थानीय बासिन्दाको आर्थिकस्तर पनि उकासिँदै गएको छ । हाल दैनिक दुईसय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

प्रतिक्रियाहरु