गृहमन्त्री वादललाई खुला पत्र : दलाल संसदीय ब्यबस्था स्वीकार गर्दैनौं भन्नु अपराध हो ?

२०७५ बैशाख २ गते, आईतवार

माननीय गृहमन्त्री श्री रामबहादुर थापा ‘वादल’ ज्यू,
लाल सलाम ।
म यतिखेर गम्भीर ढंगले तपाई समक्ष केही प्रश्न राख्दै बिगतका केही घटनाक्रम स्मरण गराउने अनुमति चाहन्छु ।
१. महान् जनयुद्धको थालनीको लागि त्यसको तयारीको क्रममा तपाई रुकुम रोल्पाका विकट बस्तीहरूमा कहिले रातीको समयमा रित्ता गोठहरूमा, कहिले कतै त कहिले ओडारहरूमा हामीलाई प्रशिक्षण दिँदा भावबिभोर हुँदै भन्नु हुन्थ्यो कि जबसम्म नेपालमा कुनै पनि रूपको शोषण, उत्पीडन, विभेद, असमानता, भ्रष्टाचार र कमिशन प्रथा कायम रहन्छ, जबसम्म यो पुँजीवादी शोषणकारी ब्यबस्थाको पूर्णरूपले अन्त्य हुँदैन, जबसम्म नेपालमाथिको भारतीय बिस्तारवादी उत्पीडन, हैकम र हस्तक्षेप अन्त्य गरी नेपाल पूर्णरूपले स्वाधीन र मुक्त हुँदैन, जबसम्म नेपालमा नयाँ जनवादी राज्यब्यबस्थाको स्थापना हुुँदैन, तवसम्म हामी प्राण रहुन्जेल कतै रोक्न हुँदैन, झुक्न हुँदैन र बिश्राम लिन हुँदैन । हामी सहिद हुन सक्छौं, अरु लड्नुपर्छ । अरु कोही सहिद होलान् हामी बाँकी रह्यौं भने अन्तसम्म क्रान्ति जारी राख्नुपर्छ । कोही भाग्न सक्छन् तर हामी अटल आस्था र पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्छ ।
हामी त्यतिबेला भर्खरका कलिला युवायुवती थियौं, एकाग्र भएर तपाईको भावुक भाषण सुन्दै जाँदा मन्त्रमुग्ध हुन्थ्यौं । लुटकारी संसदीय ब्यबस्थाका बिरुद्ध शरीरमा रगत उम्लन्थ्यो । जीउमा जिरिङ्ग काँडा उम्रन्थ्यो । नेपाललाई मुक्त गर्ने र स्वाधीन राष्ट्र बनाउन राजतन्त्रात्मक संसदीय ब्यबस्थाको ध्वंश गरी नयाँ जनवादी राज्यब्यबस्थाको स्थापना गरेर शान्त, समृद्ध र समानतामूलक नेपाल निर्माण गर्नेबाहेक हाम्रो मनमा अरु कुनै कुरा थिएन । र, आज पनि त्यो बाहेक हाम्रो इच्छा अरु केही छैन ।
संयोगबश तयारीका सम्पूर्ण काम न्यूनतम रूपमा पूरा भइसकेपछि जनयुद्धको थालनीको खाका कोर्न शान्तिपूर्ण कालको रुकुम जिल्ला कमिटिको अन्तिम बैठक मेरै घरमा बसेको थियो । र, स्वयं तपाई पनि त्यहाँ उपस्थित हुनुहुन्थ्यो । के आज नेपालमा कुनै पनि रूपको शोषण, उत्पीडन, बिभेद, असमानता, भ्रष्टाचार र कमिशन प्रथा छैन ? के तपाई नयाँ जनवादी गणतान्त्रिक ब्यबस्थाको गृहमन्त्री बन्नु भएको हो ? के आज नेपाल स्वाधीन भइसक्यो ? के नेपालमा भारतीय हस्तक्षेप छैन ? कि अझ बढेको छ ? के लाग्छ तपाईलाई ? तपाइले एक पटक आफैँसँग प्रश्न गर्नुस् । नेपालमा जनयुद्ध कुन उद्देश्यले गरिएको थियो ? के पार्टीभित्र केही दर्जन उच्च सम्भ्रान्त र नवधनाढ्य कम्युनिस्ट पैदा गर्नका लागि ति निश्छल क्रान्तिकारीहरू सहिद भएका थिए ? आज तपाई र तपाईको नेता प्रचण्डले के यसको जवाफ दिनुपर्दैन ?
२. संबिधानसभाको दोश्रो निर्बाचनको समयमा तपाईले मतपेटिकामा घन हान्नुभएको थियो, बन्चरो हान्नुभएको थियो, आगो झोस्नुभएको थियो, बम हान्नु भएको थियो, बन्दुक पड्काउनु भएको थियो । यो चुनाब बैदेशिक साम्राज्यवादको गुरुयोजनामा हुँदैछ, प्रतिक्रान्तिलाई बैधानिकता दिन यो चुनाव हुँदैछ, यस्तो संबिधानसभाबाट बन्ने संबिधान प्रतिक्रियावादी संबिधानबाहेक अरु हुनै सक्तैन भनेर बाह्र हात उफ्रनुहुन्थ्यो, आपूmलाई महान र अद्वितीय क्रान्तिकारी भएको खुबै प्रलाप गर्नुहुन्थ्यो, हैन ? अनि प्रचण्डलाई लालगद्दार र लाल डाँका भन्नु हुन्थ्यो, प्रचण्ड भारतीय खुफिया एजेन्सी ‘रअ’को एजेन्ट हो, अक्षम्य धोकेवाज हो भन्नु हुन्थ्यो । अहिले हेर्दा लाग्छ, त्यसबेला तपाईले लगाएका ति अभियोग सही नै देखिन्छन । त्यसबेला म त्यही माओवादी केन्द्रमै थिएँ, उतिबेला आजको जस्तो पूरै पतित र निर्लज्ज भइसकेको थिएन माके । आजको जस्तो पूरै बिचार र सिद्धान्तबाट च्यूत भएर नवप्रतिक्रियावादमा भासिसकेको थिएन । आज त पूरै निर्बस्त्र भएको छ माओवादी केन्द्र नामको बहुराष्ट्रिय कम्पनी । ठीक त्यसैबेला तपाई लंगौटी सडकमा फ्याँकेर एउटा हातले लाज छोप्दै र अर्को हातले यथास्थितिको बिरोध गर्ने क्रान्तिकारीका बिरुद्ध बन्दुक समात्न त्यहाँ पुग्नु भएको छ ।
वास्तवमा यो कुरा अनौठो छ, कुनै उपन्यासको कथा जस्तो पनि लाग्छ । तपाईकै भाषामा त्यही लालगद्दारको पाउमा पर्न जानु भएको छ । अव तपाई आपूm के ? त्यही ‘रअ’को एजेण्टलाई नेतृत्व स्वीकार गर्नुभएको छ । अव तपाई को ? अव तपाईको नैतिकता के ? अप्रत्यासित ढंगबाट एक्कासि रातारात तपाईको बाणी कसरी बदलियो ? बास्तबमा तपाई एउटा लाचार हो । होइन भनेर कसरी भन्न सक्नुहुन्छ ? प्रतिक्रियावादी सत्ता र संबिधानको रक्षक बन्दा अलिअलि संकोच लाग्छ कि लाग्दैन मान्यवर ? मान्छेको स्वत्व भनेको के हो ? मान्छेको स्वाभिमान कस्तो हुन्छ गृहमन्त्रीज्यूू ?
३. तपाईंले आज नेपाल कम्युनिस्ट पार्टीमाथि दमन गर्ने नीति अख्तियार गर्नुभएको छ । नेकपा राजनीतिक होइन पो भन्नु भएको रहेछ । उदेक लाग्छ , तपाई खुबै क्रान्ति गर्छु भनेर उर्लिनुभयो । पार्टी बिभाजन पछि दोश्रो संबिधानसभाको निर्बाचनको क्रममा एमाओवादीलाई हराउन कुनै कसर बाँकी राख्नु भएको थिएन । कांग्रेस र एमालेबाट मोटो रकम खाएर आफ्ना कार्यकर्ताको भोट बेच्नुभएको थियो । त्यो कुन निष्ठा, समर्पण र इमानको राजनीति थियो गृहमन्त्रीज्यू ? त्यो कार्य कुन मालेमाको सैद्धान्तिक धरातलमा आधारित थियो ? अनि त्यतिबेला तपाईले जनयुद्ध जारी नै छ भन्नुहुन्थ्यो, हैन त ? तपाईले दोश्रो संबिधानसभाको चुनाव सेरोफेरोमा जे भन्नु भएको थियो, स्थिति अहिले पनि ठीक उस्तै हो । त्यसबेला तपाईले जसरी दलाल संसदीय ब्यबस्थाबिरुद्ध प्रहार गर्नुहुन्थ्यो, अहिले पनि नेपाल कम्युनिस्ट पार्टीले ठीक त्यसै गरिरहेको छ । अनि कसरी भयो नेकपाको गतिबिधि अराजनीतिक ?
वाह रे वाह ! तपाई आपूmहरू दलाल पुँजीवादी संसदीय ब्यबस्थामा पतन हुनुभयो भनेर अरु सबै बिबेक बेचेर सती जान सक्तैनन् गृहमन्त्रीज्यू । सतीप्रथा त उहिल्यै अन्त्य भइसकेको होइन र ? कसैले गद्दारी गरे पनि हामी आपूmले कुनै हालतमा गर्नु हुँदैन, बरु सहिद हुनुपर्छ भनेर तपाइले हिजो महान् जनयुद्धका दिनहरूमा हामीलाई पाठ घोकाउनु भएको कसरी बिर्सनु भो कमरेड ? के आज तपाई मिलेराँको पाठ घोक्दै हुनुहुन्छ ? के तपाईको आजको सिद्धान्त मिलेराँवाद हो ?
गृहमन्त्रीज्यू, तपाईको औकात कति हो ? हामी पनि जान्दछौं । मैले थाहा पाएसम्म तपाई एउटा बिलयनवादी हो । प्रचण्डभन्दा त म नै पो हो कि के हो भनेर महान् जनयुद्धको प्रारम्भिक कालमा बुरुक्क बुरुक्क गर्नु भो । पछि चुनवाङ बैठकमा प्रचण्डमा बिलिन भएँ भन्दै प्रचण्डलाई अंगालो मार्नु भो । मैले मेरो कमाण्डरलाई जित्न खोजेर महाभुल गरें भन्दै भावावेषमा आएर रुनु भो । त्यो तपाईको पहिलो बिलयन थियो ।
शान्ति प्रक्रियामा आइसकेपछि फेरि कुर्लनु भो, छँदा छँदाको पार्टी फुटाउनु भयो, संबिधानसभा चुनावमा बम र बन्चरो हान्नु भो, भोट बेच्नु भो र फर्केर फेरि आफैँले थुकेको थुक चाट्नु भो । यो तपाईको दोश्रो बिलयन हो । अब तपाईहरू सबैले नाम मात्रको पार्टी माआवादी केन्द्रलाई नै एमालेमा बिलिन गराउँदै हुनुहुन्छ, हैन ? तपाइको यस्तै रबैया हो भने जीवनको आखिरी घडीमा तपाई कहाँ बिलिन हुने हो ? कृपया तपाई उत्तेजित भाषा नबोल्नुस्, तपाई अराजनीतिक बन्न खोज्दै हुनुहुन्छ । अनि नेपाल कम्युनिस्ट पार्टी कुन मानेमा अराजनीतिक भयो ? के यो दलाल संसदीय ब्यबस्था स्वीकार गर्दैनौं भन्नु अपराध हो ? के बैज्ञानिक समाजवादी ब्यबस्था चाहन्छौं भन्नु अपराध हो ? बिभिन्न बिकृति र बिसंगतिको बिरोध गर्नु के असंबैधानिक हो ? यदि त्यसो हो भने तपाईले पहिले आफैँलाई अपराधी हुँ भनेर भन्ुनुस्, गृहमन्त्रीको पद त्यागेर जेल सजायको निबेदन गर्नुस् । के तपाईसंग त्यसो गर्नसक्ने हिम्मत छ ? यदि तपाइले त्यसो गर्न सक्ने हो भने तपाइलाई म सबैभन्दा नैतिक मान्छे ठान्ने छु ।
आज नेकपाले भनिरहेको छ, स्वाधीन र समतामूलक नेपाल निर्माणका लागि फेरि अर्को क्रान्तिको आबश्यकता छ । देशका सीमा मिचिदा त्यसको बिरोध गर्नु कसरी अराजनीतिक हुन्छ ? अन्याय, अत्याचार, थिचोमिचो, असमानता, घुसखोरी, भ्रष्टाचार, कमिशनतन्त्रका बिरुद्ध आवाज उठाउनु के आतंकवाद हो ? हामी भन्छौं, हरेक रूपका बिकृति र बिसंगतिका बिरुद्ध संघर्ष गर्नु हाम्रो युगीन कर्तब्य हो ।
२९ औं जनआन्दोलन दिवश शान्तिपूर्ण ढंगले मनाइरहँदा तपाइले कैलालीमा चरम दमन र हस्तक्षेप किन गर्नु भो ? के लोकतन्त्र यही हो ? संबिधान प्रदत्त जनाधिकारका बिरुद्ध पुलिस प्रशासन लगाएर किन धावा बोल्नु भो ? यो निरंकुशताको क्रुर अभ्यास हो कि होइन ? यदि तपाईहरूसंग थोरै पनि सामाथ्र्य, नैतिकता र कर्तब्यबोध भइदिएको भए जनआन्दोलन दिवश तपाईहरूकै पहलमा राज्यले नै धुमधामसंग मनाउनु पथ्र्यो त । आपूmले केही गर्न नसक्ने र अरुलाई पनि गर्न नदिने के तरिका हो यो ? यो कायरता हो । यदि जनताका आवाजहरू थुन्ने कुचेष्टा गरिन्छ भने त्यसको परिणाम के हुन्छ ? यसतर्फ बिचार गरियोस् ।
४. जनताका आवाजहरूलाई दुनियाँको कुन ताकतले रोक्न सकेको छ ? समयको बेगवान् प्रवाहलाई संसारको कुन शक्तिले छेक्न सकेको छ ? के यस्तो इतिहास कतै देख्नुभएको छ गृहमन्त्रीज्यू ? दुनियाँका कुनै पनि शासक बर्गले यथास्थितिको बिरोध गर्दै अग्रगमन चाहने, स्वाधीनता, समानता र मुक्ति चाहने उत्पीडित समुदायलाई आतंककारी, अराजनीतिक र असान्दर्भिक करार गरेर दमन गर्ने गरेको परम्परालाई नै तपाईले पछ्याइरहनु भएको छ । नेपालकै इतिहासको कुरा गर्ने हो भने पनि त हिजो राणाहरूले समयको प्रवाहलाई छेक्ने कोसिस गरे भने पंचहरूले त्यतिबेला कांग्रेस र कम्युनिस्टहरूलाई आतंककारी र अराष्ट्रियतत्वको आरोप लगाउदै दमन गर्ने दुस्प्रयास गरे ।
२०४८ सालदेखि कांग्रेसले त्यसै ग-यो । तपाई हामीलाई झुट्ठा मुद्दा लगाउने, जनतालाई रगतमा हात चोबेर कांग्रेस बन्न बाध्य पार्ने घोर अत्याचार र दमन गरेकाले तपाई हाम्रो दिमागमा झनै प्रतिशोध र प्रतिरोधको ज्वाला बलेको हुन्थ्यो । त्यो कुरा तपाईले यति चाँडै कसरी बिर्सनु भो कमरेड ? हुन त तपाईहरू अहिले भूतपूर्ब कम्युनिस्ट हो, त्यसैले यसो गर्नुभएको हो कि ! याद गर्नुस्, मैले तपाईलाई दिनुपर्ने सल्लाह यो बाहेक अरु के नै हुन सक्छ र ? कृपया, क्रुर बन्ने सपना त्याग्नुस् । जनतालाई बन्दुकको धम्की दिने गृहमन्त्री त नेपालमा कति आए, कति गए !
राजनीतिक प्रतिशोधको आधारमा तपाईंले नेकपाका उच्च स्तरका नेताहरूलाई किन अनाहकमा झुट्ठा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गर्नु भो ? यदि चुनाव बहिस्कार गरेकै कारणले त्यसो गर्ने हो भने तपाईंले गरेको त्यही कार्य कसरी राजनीतिक ठान्नुहुन्छ ? शिघ्रातिशिघ्र तपाईंले झुट्ठा मुद्दा फिर्ता लिएर राजनीतिक ढंगले प्रस्तुत हुने कि नहुने ? धनगढीमा चैत्र २४ मा भएको प्रहरी दमन र ज्यादतिको उचित छानविन गरेर दोषिमाथि कारवाही गर्न सक्ने हैसियत के तपाईंसंग छ ? होइन भने शान्ति, सुब्यबस्था, अमनचयन कायम गर्छु भनेर फोस्रो बकबास किन ? आज पनि तस्कर र गुण्डाहरू खुलेयाम छाती खोलेर हिँडिरहेका छन, माफियाहरू, मानवतस्करहरूको बिगबिगीले समाज आक्रान्त छ । भ्रष्टाचार र कमिशनतन्त्र ब्यापक बनेको छ । खोइ कहाँ आएको छ नेपाली समाजमा परिबर्तन ? स्थिति हिजोभन्दा आज झन् संकटग्रस्त छ । के यो दलाल पुँजीवादी संसदीय ब्यबस्थालाई अजर अमर ठानिरहनु भएको छ ? महान् जनयुद्धको बलमा करीब मशानघाट पु¥याइसकिएको कुरूप संसदीय ब्यबस्थालाई रंगरोगन गरेर जनचाहना र अपेक्षा बिपरित जबर्जस्त लादेर जनता चुप लागेर बस्छन भन्ने ठान्नु भएको छ ? यो सम्भव छैन ।
गृहमन्त्रीज्यू, मेरा जिज्ञासाहरूको जवाफको प्रतिक्षा गर्दै यस पटकलाई यत्तिकैमा कलम बन्द गर्दछु । यसलाई तपाईंले कुनै ब्यक्तिगत इगोको रूपमा लिनुहुने छैन भन्ने विश्वास लिएको छु । धन्यवाद ।
— श्यामबहादुर बोहरा ‘अटल’

प्रतिक्रियाहरु