गुहे कीराहरू – बलराम तिमल्सिना

२०७५ बैशाख २४ गते, सोमबार

देशमा बगिरहेछ
यौटा मलमूत्रको नदी
घाइते कछुवाजस्तै
सुस्त सुस्त
बस्तीभरि छरेर दुर्गन्ध !

त्यही नदीको फोहोरमा निर्भर
असंख्य गुहे कीराहरू छन्
गुहे कीराको ध्यान- गुहुसम्म
गुहे कीराहरू घिस्रिरहेछन्
गुहुदेखि गुहुसम्म
त्यसैमा मदहोस छन् गुहे कीराहरू !

आपसमै हापझाप गर्दै
खातमाथि खात लागेर
लगातार मुन्टो जोतिरहेछन् गुहुमा
नयाँ पुराना गुहे कीराहरू !

गुहे कीराहरूले पनि
आफ्ना आफ्ना पार्टी खोलेका छन्
कसैका राष्ट्रिय समाजवादी
कसैका प्रजातान्त्रिक समाजवादी
र कसैका बहुदलीय समाजवादी
सवैको आदर्श एउटै हो –
यो गुहे नदीलाई बचाइराख्नु
जसमा टिकेको छ उनीहरूको जिन्दगी !

आपसमा खुव भिड्छन गुहे कीरा
गाली गलौज र हानाहान पनि गर्छन
गठबन्धन र एकता पनि गर्छन
कार्टेलिङ र सिण्डिकेट लगाएर
एक्लै चोपलिन गुहे दहमा
यिनीहरू असाध्यै माहिर छन् !

भर्खरै एउटा लार्भा
जसलाई महुरीको लार्भा भनिएको थियो
झ्वाम्म हाम फाल्यो त्यही दहमा
र घुटुघुटु पियो दिसा पिसावको घोल
उसको पछि पछि लागे
असंख्य लार्भाहरू
तिनीहरू पनि त्यसै गर्न थाले !

आपसमा जति नै लडे पनि यी
कसैले तेजाव हाल्ने कुरा गर्यो भने
यिनीहरू एक स्वरले चिच्याउँछन्-
“हाम्रो विश्वव्यापी मान्यता हो यो ,
को हो औंलो ठड्याउँने हामीमाथि हँ ?”

लोकतान्त्रिक मलमूत्र कौशिकीका
यी गुहे कीराहरू अचेल
मान्छेमाथि शासन चलाउँछन्
खुव वाचाल छन् गुहे कीराहरू !

प्रतिक्रियाहरु