गिरफ्तारी र दमनले क्रान्ति रोकिँदैन – दिनेश विक

२०७६ कार्तिक ११ गते, सोमबार

क्रान्तिकारी जीवन एक यस्तो धातु हो जहाँ खिया नै लाग्दैन । चट्टान तर नरम, पानी तर आगो ! घाम तर शितल ! दुःख तर खुशी यी प्रक्रिया स्वभाविक हाम्रा लागि भोगाई हुन् । प्रत्येक सेकेन्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी जहिले र जति खेर पनि क्रान्तिकारीलाई षड्यन्त्र हुन्छ र विपत्ति आइपर्छ यकिन हुँदैन तर क्रान्तिकारीमा सम्हालिन सक्ने र उच्च मनोवलसहित षड्यन्त्रकारीका विरुद्ध निर्मम निर्णय लिन पछि पर्दैनन् क्रान्तिकारी । क्रान्तिकारी मानिसमा आउने दम सायद विरलै हुन्छ इतिहासमा एक नम्बर शासक र बादसाह हुँ भन्नेहरु मिनेटमै ढलेको इतिहास हामी सबैले अध्ययन गरेकै हो । जनताको पक्षमा उठ्ने आवाज जहिले पनि शक्तिशाली हुन्छ र जनताको आवाज कुल्चन खोज्ने शासक वर्ग जहिले पनि हावाले उडाउने भुस हुँदै आएको छ । जनताको बलभन्दा अर्को कुनै त्यस्तो तागत छैन संसारमा र हुनेवाला छ । एकछिन्को भोगविलास र सेना, प्रहरी बन्दुकको ट्रिगर हेरेर त्यो कुरा बिर्सनु हुँदैन कि हामी नै सर्वश्रेष्ठ र हाम्रो सत्ता कसैले ढाल्न सक्दैन । अहँ हामी मान्दैनौँ दलाल पुँजीवादी संसदीय व्यवस्था जनताले ढाल्छ र सच्चा कम्युनिस्टले ढाल्नु पर्दछ आजको अपरिहार्यता हो ।
अहिलेको सत्ता दलाल पुँजीवादीहरुको हातमा छ र त्यसको गोटी कथित कम्युनिस्टको गुन्यु र पटुकी लगाएका उखाने केपी र कलाकार प्रचण्डले संचालन गरेका छन् । उनका भारदार मन्त्रीले देशको श्रीसम्पत्ति जति घरकी श्रीमतीको खातामा मेल गर्ने काममा व्यस्त छन् । देशमा सामाजिक विचलन बढेको छ, भूकम्पले धरहरा ढलेजस्तै सांस्कृतिक विचलनताले संसदीय व्यवस्थाका ५ औँ मर्यादाका महरा ढले उनी बाहिर उत्कर्षमा ढले भित्र त कति ढलेका छन्–छन् । सरकार भिख माग्ने मगन्ते जोगी भइसक्यो । लाग्छ ओली अविवाहित हुँदा हुन् त विदेशीसंग अझ चिनियाँसँग रेल होइन कि गर्लफ्रेन्ड माग्थे होला ! स्वाधीनता, रास्ट्रियताको मुद्दा त पुरानो होला जस्तो भैसक्यो । सरकार त सडकको अर्धचेत लुगा सम्हाल्नै नसक्ने मानसिक सन्तुलन गुमेको अधवैसे जस्तो । के ठीक, के बेठीक, के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने, के भन्ने, के नभन्ने, को मित्र, को शत्रु, को आफ्नो, को पराई ? भन्ने यो संसदीय व्यवस्थाका नालायकहरुलाई केही मेसो भएको पाइँदैन । आर्थिक विचलन र राजनैतिक विचलन, विचारको विचलन पराकाष्ठामा पुगिसक्यो । कम्युनिस्ट सरकार भन्न रहर मान्ने चटकेहरुको सुस्पस्ट दृष्टिकोण नै छैन, केवल आर्थिक र विकाश । राजनीतिक लडाइँ सिद्घियो, सबैले अधिकार पाइसके अब पालो समृद्धि र सुखी नेपाल उखानका सम्राट केपीलाई सिंगापुर किड्नीको उपचार गर्न पाए सबै सुखी नेपाली उता रामेलाई ज्वरो आउँदा सिटामोल मेरो सरकरले दिन सकेको छैन भन्ने थाहै छैन । सुखी नेपाल होइन कि ‘दुःखी नेपालीको सुखी प्रधानमन्त्री’ नारा सान्दर्भिक होला कि ?
संसारमा थुप्रै तानाशाहहरुको जन्म भयो र अन्त्य पनि । नेपालमै पनि तानाशाही शासकहरुले आफ्नो सत्ता चलाए विद्रोह गर्नेलाई गोली, जेलनेल, अपहरण र हत्या जस्ता निर्मम अमानवीय कार्यहरु नगरेका होइनन् अन्ततः जनताको महासागरले उल्टाइदिएको इतिहास पनि अहिलेका सत्ता सम्हालेका कथित केपि–पिकेलाई राम्रोसँग थाहा छ । परन्तु हिजोको शासित वर्गका नेता आजको शासक वर्गमा रुपान्तरण हुँदा विगत सर्वहारा वर्ग, किसान, मजदुर र जनताको अधिकारका मुद्दा विदेशी रक्सी, घुम्ने कुर्सी र तातोमा चिसो, चिसोमा तातो एसी–डिसीको बाफमा बिर्सिसकेका सत्ता पक्ष कथित कम्युनिस्ट जत्थाहरुको हुल सिंहदरबार र बालुवाटारमा रास्ट्रको सम्पत्ति बाँडिचुँडी खान बिल मिलाउन व्यस्त छन् । बीपि विचारसमेत छोडेको काँग्रेस सत्ता भोगचलनमा छट्पटाइरहेको छ, सरकारलाई कसैले हान्दियोस् भन्ने चाहन्छ । त्यही काँग्रेसका प्रदिपको माक्र्सवादी स्कुलिङ्ग लिन डबल नेकपामा लछार–पछार छ । प्रदिपले दिने स्कुलिङ्ग कस्तो होला र लिने चेलाहरु कस्ता होलान ? यी कम्युनिस्टहरुलाई ‘महाकाली बगाएर कोशी खोज्नु पर्ने हो’ त्यस्को खोजीको लागि उता विद्वान् भन्न रुचाउने बुद्घि भ्रष्ट बाबुरामलाई नै उपेन्द्रले पठाउँदा ठीक होला कि ?
विप्लव नेतृत्वको नेकपामाथि दमन गर्न दलाल केपी र पिके न्वारानको बल लगाई – लगाई नेकपामाथि फासिस्ट एवं जनविरोधी हर्कतमा उत्रिएका छन् । भर्खरै दाङ्ग जिल्लाको राजापुरमा आफ्नो राजनैतिक कामको बैठक बसिरहेको बेला नेकपाका केन्द्रीय सदस्य विरजंग, सुवास, पाटनलगायत २१ जना जिम्मेवार नेता कार्यकर्तालाई संकटकालीन झझल्को दिने गरी गरेको गिरफ्तारीले तरंग सिर्जना ग¥यो । राज्यको फासीवादी रवैया हो र राज्य जबर्जस्त युद्ध निम्त्याउँदै छ । त्यसको पछाडि आफ्नो असफलतालाई ढाकछोप गर्ने र दोष नेकपालाई लगाउने प्रपञ्च रच्दैछ भन्ने बुझ्न सकिन्छ । किनकि ? के विप्लव नेतृत्वको नेकपाले बन्दुक पट्काएर, के प्रहरीमाथि आक्रमण गरेको छ ? जनताले वुझ्नु पर्दछ नेकपाले त यो देशलाई बर्बता पार्नेसँग लडिरहेको छ, यो साँचो हो । भ्रष्टाचार गरेर देशको अर्थतन्त्र स्वाहा पार्नेसँग लडिरहेको छ । जनताको अधिकार स्थापित, राष्ट्रिय अर्थतन्त्रको विकास, नेपालका प्राकृति स्रोत, साधनमाथि विदेशीलाई देशको हित विपरीत दिनु हुँदैन, स्वास्थ्य, शिक्षा, रोजगार जनताले पाउनु पर्छ । तर, दलाल व्यवस्थाले दिन सक्दैन । त्यसको ठाउँमा वैज्ञानिक समाजवाद चाहिन्छ भन्ने पार्टीको प्रस्ट विचार जनतालाई थाहै छ । उल्लेखित यी विषयको माग यो व्यवस्थाले दिन सक्दैन र मुद्दा उठाउने शक्तिमाथि दमन गरेर जनताका जायज मागलाई कमजोर पार्ने र आफ्नो लुट्को व्यवस्था टिकाउनेअन्तर्गत नेकपामाथि दमन गरिरहेको छ । केपी – पिके जति फासिस्ट र क्रुर वन्लान् त्यतिनै चाँडो उनीहरुको सत्ताको अन्त्य अनिवार्य छ, हाम्रो क्रान्ति यही सत्ताको अन्त्यको लागि हो । दमन, गिरफ्तार र यातनाले दलाल र फासिस्टहरुको सत्ता टिकेको देख्न पाइएको छैन । के केपी एण्ड पिकेको सत्ता टिक्ला ? दिन गन्ती सुरु गर्ने बेला आयो ।
दलालहरु क्रान्तिकारी पार्टी र जनताका अधिकारलाई बन्दुकले दबाउने कुचेस्टा गर्दै छन् । भेला हुन पाउने आफ्नो विचार राख्न पाउने हक हामी माथि सुरक्षित हुँदाहुँदै पनि हामीले प्रतिबन्धित हुनु परेको यो संगीन मोडमा पाए नेतृत्वलाई गोलीले सिद्घाउने षड्यन्त्रमा केपि–पिके र रामबहादुर प्रहरीलाई उच्क्याउँदै छन् । हाम्रो प्रहरीमाथि कुनै गुनासो छैन तर क्रान्तिकारीलाई गिरफ्तार गर्ने, नेतृत्वलाई इन्काउन्टरको नाममा सिद्घाउने, आफ्नो पद वढुवा र अथाहा पैसा कुम्ल्याउने सपना छ भने दिवा सपना हुनेछ । पुलिस दलालको पछाडि लाग्नु राम्रो होइन र हुने छैन । क्रान्तिकारी सदैव जस्तोसुकै परिस्थितिको र शक्तिको सामना गर्न सक्षम हुन्छन् वुझ्न जरुरी छ । केपि र पिकेको सत्ताको आडमा क्रान्तिकारीलाई दमन गरेर भत्ता पाउने सपना पुलिसको सपना साकार हुने छैन, विदेशीको आडमा सत्ता टिकाउने केपि – पिकेको सपना पनि दिवा सपना मात्र हुनेछ । क्रान्तिको ज्वारभाटाले न त सत्ता रहनेछ न त केपि–प्रचण्डको सरकार रहनेवाला छ, न त क्रान्तिकारीलाई दमन गरेर गिरफ्तार गरेर पुलिसको फुली र भत्ता रहनेछ । जति गिरफ्तार गर, जति मार, झन हजारौँ हजार जन्मिने छन् ! यो एकीकृत जनक्रान्ति हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु