गत आर्थिक वर्षमा छब्बीसवटा गैँडाको मृत्यू

२०७५ श्रावण १ गते, मंगलवार

काठमाडौं, १ साउन । गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् । गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको उनले बताए ।
विसं २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैँडा मारेका थिए । त्यसयता तस्करले गैँडा मार्न भने सकेका छैनन् ।
अन्य कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए ।
आव २०७२÷७३ मा अन्य कारणबाट १५ वटा गैँडा मरेका थिए । तस्करले गैँडा मार्न नसके पनि अन्य कारणले मर्ने गैँडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
विभागबाट पर्यावरणविद्सहितको टोलीले गैँडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने , “तस्करले गैँडा मार्न नसके पनि अरु कारणले गैँडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार