खुला दिशामुक्त अभियान असफल

२०७४ माघ १९ गते, शुक्रबार

काठमाडौं १९ माघ । सन् २०१७ भित्र खुला दिशामुक्त बनाउने घोषणा असफल भएको छ । नेपालका ४४ जिल्ला खुला दिशामुक्त घोषणा भए पनि कपिलवस्तुमा भने खुला दिशामुक्त अभियान असफल भएको छ । कपिलवस्तुलाई सन् २०१५ भित्रै खुला दिशामुक्त बनाउने लक्ष्य लिएर गाउँगाउँमा सरसफाई अभियान सञ्चालन गरिएको भए पनि हालसम्म पनि लक्ष्य पूरा नहुँदा सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
राजनीतिक दल तथा सरोकारवाला निकायले खुला दिशामुक्त बनाउने प्रतिवद्धता कार्यान्वयन नगर्दा समस्या भएको खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, कपिलवस्तुका प्रमुख कैलाश नायकले बताए । जनचेतनाको अभावका कारण सर्वसाधारणले शौचालय निर्माणलाई प्राथमिकता दिएका छैनन् ।
विभिन्न संघसंस्था तथा सरकारी निकायले अनुदान दिँदासमेत सबै घरमा शौचालय बन्न सकेका छैनन् । अब भने शौचालय नबनाउने र अटेरी गर्नेलाई कारबाही गर्ने तयारी भएको छ । जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन आगामी दुई महिनासम्म आठ वटा स्थानीय तहमा योजना केन्द्रित गरिने बताइएको छ ।
कपिलवस्तु नगरपालिकासहित शिवराज, कृष्णनगर र महाराजगन्ज नगरपालिका तथा विजयनगर, शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका अझै खुला दिशामुक्त हुन सकेका छैनन् । सन् २००२ देखि नै तत्कालिन जिल्ला विकास समिति, जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनालगायतका संघसंस्थाले शौचालय निर्माण र सरसफाईमा करोडौं रकम खर्च गरेका छन् ।

प्रतिक्रियाहरु