क्याम्ब्रिज एनालिटिका बन्द हुने

२०७५ बैशाख २० गते, बिहीबार

काठमाडौं, २० बैशाख । सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ । कम्पनीले आफ्नो वेवसाइटमा आफूमाथि लागेको आरोप आधारहीन भएको जनाएको छ । तर आफ्ना ग्राहक नभएपछि व्यवसाय बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । क्याम्ब्रिज एनालिटिकाका प्रवक्ता क्लारेन्स मिचेलले कम्पनीको वेवसाइटमा विगत केही महिनादेखि क्याम्ब्रिज एनालिटिका माथि कतिपय आधारहीन आरोप लागेको र त्यसले कम्पनीलाई बदनाम मात्र नगराइ विज्ञापनमा पनि ठूलो धक्का लागेको जनाएका छन् । आधारहीन आरोपका बाबजुद कम्पनीका सबै ग्राहक विस्थापित भएको र व्यवसायलाई आर्थिक संकट परेकाले बन्द गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन् । उक्त कम्पनीमाथि सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा फेसबुकबाट डाटा चोरी गरेर चुनाव प्रभावित गरेको आरोप छ ।
क्याम्ब्रिज इनालिटिकाको बदमासी सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले आफ्नो कम्पनीबाट पनि गल्ती भएको स्वीकार गरेका थिए ।
उनले फेसबुकमा राखिएका तथ्यांक चोरी हुनबाट जोगाउन तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।-एजेन्सी

प्रतिक्रियाहरु