कोरोना भाइरस र पुँजीवादी विश्वको संकट – प्रकाण्ड

प्राकृतिक प्रतिकूलता, महाविपत्ति र समाज वर्गमा विभाजित भएपछि शोषक वर्गले आफ्नो स्वार्थ सिद्धिका निम्ति समाजका बहुसङ्ख्यक श्रमजीवी जनताका विरुद्ध थोपरेका विनाशकारी घटना–परिघटनाहरूका विरुद्ध भीषण एवम् जीवनमरणको अनवरत सङ्घर्षको प्रक्रियाबाट मात्र एक्काईसौँ शताब्दीको दोस्रो दशकसम्मको मानवसमाजको विकास भएको छ । विश्व–मानव समुदायले सामाजिक विकासको ऐतिहासिक क्रममा मानव विनाश, अर्थतन्त्रको नाश, भौतिक संरचनाको विध्वंसलगायत चर्को मूल्य चुकाउनु परेको छ । तब मात्र विश्व–मानवजाति आदिम साम्यवादी समाजबाट दास समाज, सामन्ती समाज हुँदै पुँजीवादी समाजमा पुगेको छ । हाल वैज्ञानिक समाजवादी समाज स्थापनाको सङ्क्रमणकालीन यात्रामा अगाडि बढिराखेको छ ।

वर्तमान र विगतका शासक वर्गले जहिले पनि प्रकृति र मानवसमाजलाई अलगथलग र अन्तरविरोधी रूपमा हेर्ने दृष्टिकोण राखे । वैज्ञानिक दृष्टिकोण र प्रकृति एवम् समाज विज्ञानको सिद्धान्तबाट हेर्दा यो दृष्टिकोण अधिभूतवादी, विखण्डनवादी, अव्यावहारिक र गलत छ । प्रकृति र मानवसमाज अन्तरसम्बन्धित र एक–अर्काका पूरक हुन् । प्रकृतिको अनुपस्थितिमा मानवसमाज डरलाग्दो सङ्कटको भुमरीमा पर्छ । झन्डै यसको अस्तित्वरक्षाको खतरा पैदा हुन्छ भने मानवसमाजबिना प्रकृतिको संरक्षण, विकास र प्रयोगको अभाव रहन्छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको वैज्ञानिक दृष्टिकोणबाट हेर्दा मानवसमाज र प्रकृतिका बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । अपितु प्रकृति विज्ञानको नियममुताबिक नै विपरीत तत्वका रूपमा नकारात्मक घटना पनि घट्छन् । अहिलेको विश्वमा देखिएको र २ लाख ६ हजार ९९२ जनाको ज्यान लिइसकेको कोरोना भाइरस एउटा हो । त्यसले मानवजीवनमा अनपेक्षित असहजता, विनाश र महासङ्कट पैदा गर्छ । त्यसको सामना गर्ने चेतना र सामथ्र्य मानवसमाजले निरन्तर हासिल गरिरहनु पर्दछ ।

सन् २०१९ को डिसेम्बर महिनामा छिमेकी देश चीनको मध्यभागमा रहेको वुहान सहरबाट हालसम्मकै विकसित स्वास्थ्य विज्ञानलाई चुनौती दिने गरी ‘कोरोना भाइरस’ का रूपमा एउटा डरलाग्दो श्वासप्रश्वाससम्बन्धी सरुवा महारोग (कोभिड १९) पैदा भयो । अहिलेको विश्वमा शक्तिशाली, सम्पन्न र विकसित पहिचान बनाएको चीन र त्यहाँको राज्यव्यवस्था, स्वास्थ्यप्रणाली, अर्थतन्त्र र नेतृत्वलाई समेत हायलकायल बनायो । उक्त भाइरसले चीनमा मात्रै चिकित्सकहरूसहित ४ हजार ६ सय ३२ जनताको ज्यान लग्यो । ८५ हजार मानिसहरू सङ्क्रमित भए । यो समस्या अहिलेसम्म आँउदा घट्दो क्रममा छ । यद्यपि पूरा नियन्त्रण भने भैसकेको छैन । सन् २०२० अप्रिल २७ सम्म चार महिनाको अवधिमा कोराना भाइरस विश्वव्यापी महामारीका रूपमा आक्रामक गतिमा फैलिरहेको छ । यसको फैलावट युद्धस्तरमा छ । आजका मितिसम्म यस रोगवाट विश्वमा २ लाख ६ हजार ९९२ मानिसले ज्यान गुमाइसकेका छन् । २९ लाख ९४ हजार ७ सय ६१ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान सहर भएर पनि यसको डरलाग्दो आक्रमण अमेरिका र युरोपमा केन्द्रित भएको छ । अमेरिकामा मात्र ५५ हजार ४१३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ८७ हजार १६० जना सङ्क्रमित भइसकेका छन् । भारतमा भने २७,८९० जनामा सङ्क्रमण पुष्टि भएको छ भने मृतकको सङ्ख्या ८८१ रहेको छ । विश्वस्तरमा क्रियाशील स्वास्थ्य सङ्गठन र स्वास्थ्य विशेषज्ञहरूको विश्लेषणमा अब यसको आक्रमणको निशाना पूर्वी युरोप, ल्याटिन अमेरिका र अफ्रिका महादेश हुने आँकलनहरू पनि सार्वजनिक भएका छन् । यो विश्वव्यापी रूपमा ‘दिन दुई गुना रात चौगुना’ का दरले विस्तार भैरहेको छ । कोरोना भाइरसको आक्रमण र फैलावटले विश्व–मानव समुदायलाई अभूतपूर्व आतङ्कित, चिन्तित र हतोत्साहित बनाइरहेको छ ।

कोरोना भाइरसका विरुद्ध विश्वव्यापी जुध्ने क्रममा आफूलाई सर्वशक्तिमान र विकसित भन्ने राष्ट्र«हरूको रोग नियन्त्रण र विपत् व्यवस्थापन क्षमताको दुनियाँले राम्रोसँग बुझ्ने र देख्ने गरी आश्चर्यजनक रूपमा रहस्य उद्घाटन हुन पुगेको छ । जनताको आधारभूत आवश्यकताको व्यवस्थापकीय स्तर, राष्ट्रको जीवनमा सङ्कट आइलाग्दा त्यसको सामना गर्ने क्षमता र हैसियतमा दरिद्रपना देखियो । यसको मुख्य उदाहरण त संयुक्त राज्य अमेरिका नै बन्न पुग्यो । अमेरिकी उत्तरसाम्राज्यवादले जनताको स्वास्थ्य क्षेत्रमा कति खेलबाड गरिराखेको रहेछ भन्ने विषय दुनियाँलाई आश्चर्यचकित पार्ने सबभन्दा ठूलो प्रमाण हुन गएको छ । संयुक्त राज्य अमेरिका नै आजका मितिसम्म कोरोना भाइरसबाट आक्रान्त हुन पुगेका २१० देशहरूमा सबभन्दा बढी मानिसहरूको मृत्यु हुने र सबै देशहरूलाई उछिनेर जनता सङ्क्रमित हुने देशका रूपमा चित्रित छ । अमेरिकामा कोराना भाइरसबाट मृत्यु भएका जनताको शवसमेत व्यवस्थित गर्न नसकी ट्रकहरूमा ओसारेर एउटै चिहानमा गाड्ने असभ्य, अमानवीय, कारुणिक, मानवीय संवेदनाहीन र गैरजिम्मेवार व्यवहार डोनाल्ड ट्रम्प प्रशासनले देखायो । कोभिड १९ रोगको दोस्रो सिकार भएको देश इटाली, तेस्रो स्पेन, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत देशहरूको प्रतिरोधात्मक र व्यवस्थापकीय क्षमता पनि कमजोर नै साबित भयो । अझै घृणास्पद तथ्य त के देखियो भने संयुक्त राज्य अमेरिकालगायत विश्वका एकाधिकार एवम् निगम पुँजीपतिहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट विश्व–मानव समुदायले बेहोर्नुपरेको क्षतिभन्दा बढी चिन्ता, संवेदनशीलता, चासो र प्राथमिकतामा अर्थव्यवस्थामा पर्न गएको क्षतिको देखियो । यसबीचमा अमेरिकी पुँजीपति गोल्डेन स्म्याक (Golden Smach) र गभर्नर डेन प्याट्रिक (Den Petrich) ले अमेरिकी सरकारले कोरोना भाइरसको महामारीबाट मानवीय र अर्थव्यवस्थामा हुन पुगेको क्षतिमध्ये अर्थव्यवस्थामा पुगेको क्षतिलाई प्राथमिकतामा राख्नुपर्छ भनी दिएको सार्वजनिक अभिव्यक्तिले यस कुराको पुष्टि गर्दछ । मानौँ, विश्व–मानव समुदाय मुठीभर एकाधिकार एवम् निगम पुँजीपतिहरूको मुनाफालाई सुनिश्चित गर्ने साधन मात्र हुन् । महामारी आए पनि, मानव विनाश भए पनि मुनाफा प्रभावित हुने विषय उनीहरूलाई सह्य छैन । यो अमेरिकी उत्तरसाम्राज्यवादी सारतत्वको उदाङ्गोपना हो । तर वैज्ञानिक सत्य के हो भने विश्व–मानवसमाज र तत् देशको जनताका निम्ति अर्थतन्त्र हो, अर्थतन्त्रका निम्ति मानवसमाज र सम्बन्धित देशका जनता होइन । जनताले अर्थव्यवस्थाको सिर्जना गर्छ न कि अर्थव्यवस्थाले जनताको । यसर्थ अर्थतन्त्र जनताको सेवक हो । मानवसमाजको आवश्यकतामा सिर्जना र संरक्षित हुन्छ । यो जनताको सेवामा परिचालित हुनु पर्दछ ।

समुन्नति र विपत्ति मानवसमाजको जीवन हो । मानवसमाजका निम्ति समुन्नतिको सिर्जना गर्नु र विपत्तिको सामना एवम् व्यवस्थापन गर्न इतिहासको निश्चित कालखण्डमा समाज, राष्ट्र र जनतालाई राज्यसत्ता, शासन व्यवस्था र नेतृत्व वा सरकारको आवश्यकता पैदा हुन गएकोे हो जसरी एउटा परिवारलाई अभिभावकको जरुरत हुन्छ । मानव स्वास्थ्यमा प्राकृतिक विपत्तिका रूपमा वर्तमान विश्वमा डढेलोझैँ फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मानव जातिको रक्षा गर्न विश्व स्तरबाट र सम्बन्धित देशमा पुँजीवादी विश्व–व्यवस्थाका शासक वर्गहरूले ‘आक्रामक प्रतिरक्षात्मक मोर्चा’ खोल्नुपर्ने वस्तुगत आवश्यकता थियो । सङ्क्रमित देशहरूमा सम्बन्धित देशका सरकारहरूले र विश्वव्यापी रूपमा आफूलाई शक्ति सम्पन्न र विकसित भन्ने देशका शासक वर्गले यसको नेतृव लिनुपर्ने आवश्यकता र जिम्मेवारी दुवै थियो । तर वास्तविकता कस्तो देखियो भने सरकार र त्यसका नेतृवमा दृष्टिकोणहीनता, अतिरक्षात्मक, शक्तिशाली प्रतिरोधात्मक क्षमताविहीन, साधनस्रोत र वैज्ञानिक योजनाविहीनताको बिलखबन्द देखापर्यो । बरु कोरोना भाइरसले विश्व आक्रान्त भइरोखेको बेला यसलाई नियन्त्रण र निर्मूल पार्ने काममा केन्द्रित हुनको सट्टा विश्व–मानव जातिको जीवनमा आइलागेको महासङ्कटबाट नाजायज फाइदा उठाउन व्यापार, मुनाफा, भ्रष्टाचार, कमिसन र शक्ति आर्जनको असाध्यै निच, घृणित र मानवताविरोधी ‘अपराधपूर्ण पागलपन’ तत् देशका सरकार र पुँजीपतिहरूका लागि प्राथमिकतामा परेको छ ।

नकारात्मक परिघटनाका रूपमा सृष्टि भएको कोरोना भाइरसको महाविपत्तिले विश्वभरि घटाएका घटना, त्यसले विश्व–मानवसमाजमा पुर्याएको अपूरणीय क्षति, पुँजीवादी विश्व–व्यवस्था र त्यसका शासक वर्गको अति रक्षात्मक अवस्थाले वर्तमान पँुजीवादी विश्व–व्यवस्था जसको नेतृत्व अमेरिकी उत्तरसाम्राज्यवादले गरिराखेको छ । आइन्दा एक्काईसाैँ शताब्दीको दोस्रो दशकभन्दा अगाडिको विश्व–मानवसमाजको नेतृृत्व, प्रतिनिधित्व, सेवा, आवश्यकता परिपूर्ति र आइपर्ने महाविपत्तिको सामना गर्ने न्यूनतम् हैसियत गुमाइसकेको कुरा प्रमाणित हुन पुगेको छ । भित्रभित्रै मक्किसकेको उत्तरसाम्राज्यवाद र विश्व–पुँजीवादको सक्कली अनुहार कोरोना भाइरसको महामारीले एकै धक्कामा विश्वसामु अनावरण गरिदिएको छ । यो उत्तरसाम्राज्यवादी एवम् पुँजीवादी विश्व–व्यवस्था, त्यसको नेतृत्व र राज्यसत्ताको सङ्कट, अक्षमता र असफलताको परिणति हो । विज्ञान र प्रविधिका क्षेत्रमा चमत्कारीपूर्ण विकास गरिरहेको एक्काईसौँ शताब्दीको विश्वलाई नेतृत्व प्रदान गर्न, प्रकृति एवम् विकसित विज्ञान प्रविधिलाई विश्व–मानवजातिको सेवामा उपयोग गर्न नयाँ विश्व–व्यवस्थाको स्थापना र विकास अनिवार्य बन्न गएको छ । त्यो भनेको विश्वका श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने साम्यवादी विश्व–व्यवस्था, शोषित–उत्पीडित जनताको अगुवाइ र सामाजिक क्रान्तिको विज्ञान माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित कम्युनिस्ट पार्टीको नेतृत्व हो । तत्कालिक राजनीतिक कार्यक्रम र कार्यनीति भने वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो । यो ऐतिहासिक र महान् कार्यका निम्ति विश्वका श्रमजीवी जनता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, प्रगतिशील शक्ति, राष्ट्रिय मुक्तिका पक्षधर शक्ति र सच्चा लोकतन्त्रवादीहरूले आफूलाई तम्तयार राख्नैपर्छ ।

नेपालमा कोरोना भाइरस देखापरेपछि देश आतङ्कमय भएको छ । नेपाली जनताको शारीरिक र मानसिक स्वास्थ्य खतरामा परेको छ । कोरोना भाइरसको उपचार र नियन्त्रणका निम्ति भनेर केपी वली नेतृत्वको सरकारले देशलाई ०७६ चैत ११ गतेबाट पटकपटक गरी बन्दाबन्दीमा राखेको छ ।
नेपाली जनताको उपचार, सङ्क्रमित व्यक्तिसँग लसपस भएका व्यक्तिहरूको पहिचान गरी एकान्तबासमा राख्ने, स्वास्थ्यकर्मी एवम् अस्पताललाई परिचालन गर्ने, अन्य देशसंग सम्बन्धीत आवतजानत गर्ने मार्ग एवम् नाका निगरानी गर्ने, केही स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने र केही राहत वितरण गर्ने काम सरकारले अगाडि बढाएको छ । प्रकाशित तथ्याङ्कहरू र सञ्चारमाध्यमका अनुसार हालसम्म नेपालमा ५२ जना कोरोना सङ्क्रमित भएका छन् भने ५१,३६७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । आइसोलेसन वार्डमा ११० जना, क्वारेन्टाइनमा १४,७३० जना रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालबाहिर २४ देशमा ४९ जना नेपालीको मृत्यु भइसकेको छ भने विदेशमा १९८३ नेपाली कोरोना सङ्क्रमित भएका छन् ।

कोभिड १९ रोगका विरुद्ध सङ्घर्षको मोर्चामा सरकारका तर्फबाट केही गम्भीर प्रकृतिका घटना र गल्तीहरू भएका छन् । चीनबाट आयात गरिएको स्वास्थ्य सामग्रीहरूको खरिदमा भएको डरलाग्दो भ्रष्टाचार, कमसल गुणस्तरका सामग्रीहरूको आयात, कोरोना भाइरसविरुद्ध सङ्घर्षको प्रमुख नेतृत्व गरिराखेका स्वास्थ्यकर्मीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री (Personal Protective Equipment, PPE) हरूको अभाव, देशमा कोरोना भाइरस आयातीत समस्या भएको हुनाले समयमै अन्य देशसँग जोड्ने मार्ग र नाकामा प्रभावकारी जाँच र रोक, विद्यमान स्वास्थ्य संस्थाहरूको कोराना भाइरसप्रतिरोधी क्षमताको विकास एवम् गुणस्तरीय नयाँ अस्पतालको स्थापना, देशको स्वास्थ्य जनशक्तिको एकीकृत एवम् केन्द्रीकृत परिचालन, भारतमा कोरोना भाइरसको त्रासबाट देश भित्रिनका निम्ति सिमानामा आएर रोकिएका नेपाली जनतालाई देशमा भित्र्याएर व्यवस्थापन, दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्न बाध्य नेपाली जनतालाई आवश्यक राहतको व्यवस्थापन, आन्तरिक एवम् बाह्य आपूर्तिको पूर्वयोजना, सहरबाट गाउँतिर जान चाहने जनतालाई त्यसको व्यवस्था, सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीहरूको उपलब्धता, देशको साधनस्रोत र मानवीय संसाधनको कोरोना भाइरसको नियन्त्रणमा एकीकृत परिचालन, राजनीतिक पार्टीहरूसँगको सहकार्य, राहत वितरणमा सरकारी पार्टीकरण, नातावाद, जातिवाद, क्षेत्रीयतावादी रबैया, अन्तर्राष्ट्रिय सहयोग तथा समन्वयमा प्रभावकारी पहलकदमीको कमीलगायत समस्या, अपर्याप्तता र कमजोरी रहेका छन् । डँढेलोले झैँ कोभिड १९ रोगले विश्वलाई लपेटिरहेको जल्दोबल्दो अवस्था, दक्षिणएसियाको भारतमा रोगको फैलिँदो स्थिति र नेपालमा पनि प्रतिदिन सङ्क्रमण फैलिँदै गएर तेस्रो चरणमा पुगेको गम्भीर स्थितिमा सरकारको यो गति र हविगतले कोरोना भाइरसरको जोखिम र सङ्क्रमण छिट्टै नियन्त्रण हुने देखिँदैन । केपी वली सरकारको गठनदेखि हालसम्म चाहे नेपाली जनताको आधारभूत आवश्यकता र समस्यालाई समाधान गर्ने सवालमा होस् चाहे अहिले देशमा भित्रिएको कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्ने सवालमा होस् ‘कथनी र करनी’ मा भयङ्कर विरोधाभास देखिँदै आएको छ । यसका पछाडिको मूल कारणको निर्ममतापूर्वक पहिचान गरी समाधान खोज्नु देश र नेपाली जनताका निम्ति अनिवार्य बन्न गएको छ ।

देशको मुख्य जिम्मेवारीमा रहेको निकाय र प्रमुख व्यक्ति गुण र दोषको भागीदार हुन्छ नै । राज्यको कार्यकारी निकाय र त्यसको प्रमुखको नाताले केपी वलीले देशमा कोरोना भाइरसका विरुद्ध लड्ने सवालमा भएका अपूर्णता र गल्तीहरूको जिम्मेवारी लिनै पर्दछ । अझ सारभूत कुरा त के छ भने समस्याको प्रमुख कारण देशमा विद्यमान राज्यसत्ता र शासन व्यवस्थामा रहेको छ । राज्यसत्ता दलाल पुँजीपति वर्गको हो । यसको चरित्र दलाल पुँजीवादी छ । दलाल पुँजीपति वर्ग यो राज्यसत्ताको मालिक हो । राज्यव्यवस्था दलाल संसदीय प्रतिक्रियावादी छ । दलाल संसदीय राज्यव्यवस्थाले सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले दलाल पुँजीवादी राज्यसत्ता र दलाल पुँजीपति वर्गको सेवा एवम् स्वार्थलाई सुनिश्चित गर्नु पर्दछ । नेपाली जनताको हित र दलाल पुँजीपति वर्गको हित उत्तरी र दक्षिणी धु्रवजस्तै विपरीत कुरा हुन् । परिणामतः अहिले देशमा समस्या उत्पन्न हुनुको प्रमुख कारण विद्यमान राज्यसत्ता र दलाल पुँजीपति वर्ग बन्न पुगेका छन् । एक्काईसौँ शताब्दीको दोस्रो दशकमा उत्तरसाम्राज्यवाद, साम्राज्यवाद र पुँजीवादको महासङ्कट कहाँनेर हो भने अभिनय प्रजातन्त्र र नागरिक अधिकारको गर्नुपर्ने तर हित सुनिश्चित एकाधिकार पुँजीपति र निगम पुँजीपतिको गर्नुपरेको छ । यो दोहोरो चरित्रधारणको विवशता नै उत्तरसाम्राज्यवाद र विश्व–पुँजीवादको पतन, विघटन र मृत्युपूर्वको महासङ्कट बन्न पुगेको छ । दलाल पुँजीपति वर्गको त झन् दयनीय अवस्था कहाँनेर छ भने उत्तरसाम्राज्यवादी र एकाधिकार पुँजीपतिको चाकरी गर्नु, आफ्नै पार्टी र नेताका विरुद्ध सत्ता र षड्यन्त्रको खेल खेल्नु, स्वाधीनता एवम् लोकतन्त्रको गीत गाउनु र राष्ट्रघात एवम् जनघात गर्नु, बडो जोखिमपूर्ण ‘घृणित जालसाजी’ को अवस्था छ । सामाजिक दलाल पुँजीवादीको अवस्था त झनै टिठलाग्दो छ । कम्युनिस्ट पार्टी र समाजवाद पनि भन्नै पर्ने, दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको रक्षाकवच पनि बन्नैपर्ने र साम्राज्यवादी एवम् विश्व–पुँजीवादी शक्तिहरूको दलाल पनि बन्नैपर्ने ‘बहुरूपी चण्डाल’ को हालत छ । मालिकहरूलाई रिझाउन बहुरङ्गी रूपधारण गर्नुपर्ने, सत्तामा टिक्न बहुअभिनय गर्नैपर्ने र जनतालाई झुक्याउन कम्युनिस्ट र समाजवादको खोल पनि ओढ्नैपर्ने लम्पटको अवस्थामा सामाजिक दलाल पुँजीवाद छ । उपरोक्त अवस्थाले उत्तरसाम्राज्यवाद, विश्व–पुँजीवाद, दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवादको अगाडि शीघ्रातिशीघ्र मृत्युबाहेक अर्को कुनै उपाय रहेको छैन ।

शासक वर्गले कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्न थालेदेखि कोरोना भाइरसको सामना गर्नुपर्ने अवस्थासम्म आउँदा राज्यको दृष्टिकोण, क्रियाकलाप र व्यवहार राष्ट्रिय आवश्यकता र जनआकाङ्क्षाको ठीक विपरीत दिशातिर गइरहेको छ । यो नेपाली श्रमजिवी जनता र दलाल राज्यव्यवस्था तथा त्यसको नेतृत्व गरिराखेको दलाल पुँजीपति वर्गका बीचको असामान्य अन्तरविरोधको नाङ्गो अभिव्यक्ति हो । देशमा अवस्थित वर्तमान दलाल पुँजीवादी राज्यसत्ता, जनविरोधी संसदीय पद्धति र दलाल पुँजीपति वर्गको अन्त्य गरेर नेपाली जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुसङ्ख्यक उत्पीडित जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गर्ने कार्य राष्ट्र र नेपाली जनताका निम्ति अन्तिम आवश्यकता मात्र नभएर ढिलो भइसकेको छ । उपरोक्त महान् कार्यका निम्ति एकीकृत जनक्रान्तिको पूर्णता अनिवार्य सर्त हो । परिस्थितिको गाम्भीर्य र राष्ट्रिय आवश्यकताको तीव्रतालाई हामी नेपाली जनताले समयमै पक्रिन सकेनौँ भने दलाल सत्ताका शासकवर्गको उत्पीडन, कोरोना भाइरसको महामारीलगायत आगामी प्राकृतिक विपत्तिको भूमरिमा परेर राष्ट्र र जनताको अस्तित्व सधैँ डरलाग्दो खतरामा परिरहने छ ।

विगत दुई महिनादेखि नेपाली जनता कोरोना भाइरसको महामारीसंग जुधिराखेको छ । आजका दिनसम्मको अवस्थालाई हेर्दा यसको नियन्त्रण र निर्मूल चुनौतीपूर्ण नै देखिएको छ । भैराखेका सरकारी प्रयासहरूको अपर्याप्तता र कमजोरीप्रति आमनेपाली जनताको आक्रोश, आलोचना र विरोध बढ्दो मात्रामा छ । यही बेला सरकारी पार्टी र सरकारभित्रको अन्तरविरोध ‘सत्ता सङ्घर्ष, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार, अध्यादेश र अपहरण प्रकरण’ भएर विस्फोट भएको छ । विदेशी शक्तिहरूको खेल पनि यी प्रकरणहरूमा समावेश भएको छ । यसले नेपाली जनतालाई थप पीडित र कोरोना भाइरसका विरुद्धको सङ्घर्षलाई कमजोर मात्र वनाएको छैन, विषयान्तर गर्ने षड्यन्त्र पनि अन्तरनिहित रहेको छ । यतिमात्र नभएर यो खेल त सरकारी नेकपाका नेताहरू र सरकारको नेपाली जनताको जीवनमाथिको खेलबाड, गैरजिम्मेवारपन र अक्षम्य अपराध हुन गएको छ । सङ्कटावस्थामा अन्य बखेडा नझिकीकन सिङ्गो देशलाई एकताबद्ध बनाएर कोभिड १९ रोगका विरुद्ध केन्द्रित हुन जरुरी छ । यसका निम्ति निम्नकार्यहरूलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन आवश्यक छ :

१) राष्ट्र र नेपाली जनताको जीवन एवम् अस्तित्वलाई खतरामा पार्ने गरी महामारीको रूप लिइराखेको कोरोना भाइरसलाई नियन्त्रण गर्न सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्नुपर्छ ।
२) कोरोना भाइरसको समस्या नेपालमै पैदा भएको नभएर अन्य देशबाट आयातित महामारी भएका कारण नेपालसँग जोडिने अन्य देशसँगका हवाई, सडक र पैदल मार्ग एवम् नाकाहरूको आवातजावतलाई निर्ममतापूर्वक रोक लगाउने ।
३) सीमा नियन्त्रणलाई बलियो बनाउन सुरक्षा व्यवस्था प्रभावकारी बनाउने जुन राष्ट्रिय सुरक्षाका निम्ति पनि रणनीतिक महत्वको हुनेछ ।
४) कोरोना भाइरसको महामारीले नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटबाट नाजायज फाइदा उठाउन दुस्साहस गर्ने भ्रष्टाचारी, कमिसनखोर, कालोबजारी र राहत वितरणमा पक्षपात एवम् अनियमितता गर्नेहरूलाई सशक्त कारबाही गर्ने ।
५) देशलाई बन्दाबन्दीमा राखेपछि दैनिक ज्यालादारी गरेर जीवनयापन गर्न विवश असङ्गठित र अनौपचारिक क्षत्रेका मजदुरहरूलाई बन्दाबन्दी अवधिसम्म पर्याप्त राहतको व्यवस्था गर्ने ।
६) नेपाली जनताको जीवनरक्षार्थ कोरोना भाइरसका विरुद्धको लडाइँका नेतृत्वकर्ता स्वास्थ्यकर्मीहरू नै हुन् । देशभरिको स्वास्थ्य क्षेत्रको जनशक्तिलाई केन्द्रीकृत र एकीकृत गरी परिचालन गर्नु जरुरी छ । यसका निम्ति स्वास्थ्यकर्मीलाई उच्च गुणस्तरयुक्त स्वास्थ्य सुरक्षा सामग्रीको जुनसुकै मूल्यमा व्यवस्थापन गर्ने विषय प्राथमिक कार्यसूचीमा राख्नुपर्छ ।
७) कोरोना भाइरसको महामारीका विरुद्ध लड्न अर्को महत्वपूर्ण विषय स्वास्थ्य सामग्री र औषधीको व्यवस्थापन एवम् आपूर्ति हो । यसका निम्ति देशको सम्पूर्ण शक्ति र आवश्यक पर्ने बजेटलाई केन्द्रित गर्नुपर्छ । के कुरालाई विशेषगरी ध्यान दिन जरुरी छ भने ‘अर्थतन्त्र जनताको सेवा निम्ति हो न कि अर्थतन्त्रका निम्ति जनता ।’
८) देशको आत्मगत अवस्थालाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल र समन्वयलाई प्रभावकारी बनाउने ।
९) मुलुकमा विद्यमान स्वास्थ्य संरचनालाई कोरोना भाइरसविरुद्ध मोर्चा लिनसक्ने तहसम्म सर्वाङ्गीण विकास गर्ने, प्रत्येक जिल्लामा प्रकृति हेरी २ देखि ३ वटासम्म कोभिड १९ लगायत सरुवा रोग र भाइरसविरुद्ध केन्द्रित आधुनिक अस्पताल स्थापना गर्ने, ‘चुनौतीलाई अवसरमा बदल्ने सिद्धान्त’ को साहसका साथ प्रयोग गर्ने ।
१०) सङ्क्रमित बिरामीको उपचारलाई उच्च प्राथमिकतामा राख्ने, आइसोलेसनमा राखिएका जनताको तीव्र गतिमा जाँच गरी निक्र्योल गर्ने र क्वारेन्टाइनमा राखिएका जनताको परीक्षणलाई तीव्रता दिने । आइसोलेसन र क्वारेन्टाइनलाई व्यवस्थित एवम् गुणस्तरीय बनाउने ।
११) एकान्तबासमा राखिएका जनताको अवस्थालाई यथाशक्य निक्र्याेल गरी खतरामुक्त भएकालाई घरमा पठाएर समाजमा सहज वातावरण सिर्जना गर्ने ।
१२) रणनीतिक दृष्टिले उत्पादन र तत्कालिक दृष्टिले उच्च सतर्कताका साथ आपूर्तिलाई व्यवस्थित र सहज बनाउने ।
१३) कोरोना भाइरसबाट आतङ्कित भएर घर जान चाहने जनतालाई सहज वातावरण बनाएर घरगाउँमा पढाउने ।
१४) भारतबाट सिमानामा पुगेर क्वारेन्टाइनमा राखिएका नेपाली जनतालाई सतर्कतापूर्व देश भित्र्याएर क्वारेन्टाइनमा राखी जाँच गर्ने ।
१५) स्वास्थ्यकर्मीलाई विशेष सुविधाको व्यवस्था गर्ने र सुरक्षामा खटिएको जनशक्तिलाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने ।
१६) कोरोनाका विरुद्ध उपरोक्त कार्यलाई अगाडि बढाउन ‘कोरोना भाइरस नियन्त्रण राष्ट्रिय योजना’ तय गरेर तत्कालिक र रणनीतिक रूपमा कार्य सम्पादन गर्ने ।

कोरोना भाईरस नयाँ प्रजातिको भाइरस हो । आफ्नो सापेक्षतामा हालसम्मका यस प्रकृतिका भाइरसहरूमा यो प्राणघातक र तीव्र आक्रामक चरित्रको छ । झन्डै ५ महिनामै विश्वव्यापी रूप लिनु, लाखौँलाख मानिसहरूलाई सङ्क्रमित गर्नु र हजारौँहजार मानिसहरूको छिनभरमै ज्यान लिनुले यसको पुष्टि गर्दछ । जारी वैज्ञानिक खोज र अनुसन्धानका बाबजुद यसको निर्मूल तुरुन्तै हुने देखिँदैन । यसलाई निर्मूल पार्न त स्वास्थ्य विज्ञानमा नयाँ अनुसन्धान र विकास जरुरी हुन गएको छ । स्वास्थ्य वैज्ञानिकहरूले ढिलो नगरी आफूलाई यो संवेदनशील र महान् कार्यमा शीघ्रातिशीघ्र केन्द्रित गर्नु पर्दछ । नियन्त्रण तथा रोकथामको कार्य भने तात्कालिक कार्यभार बन्न गएको छ । यस कार्यमा नेपाली श्रमजीवी जनताको पार्टी हुनुले नेपाल कम्युनिस्ट पार्टीको भूमिका तत्कालीन र दीर्घकालीन दुवै दृष्टिले ऐतिहासिक र महत्वपूर्ण हुनेछ । कोरोना भाइरसको महामारीबाट चिन्तित, निराश र आतङ्कित भएर स्वास्थ्य र जनजीवनमा नकारात्मक असर पर्न गएका आमनेपाली जनतामा पुगेर जनचेतना अभिवृद्धि गर्ने, कोरोना भाइरससम्बन्धी स्वास्थ्य नियम एवम् अनुशासन पालना गर्न अभिप्रेरित गर्ने, समस्यामा परेका जनतालाई मद्दत गर्ने, घर एवम् गाउँलाई एकान्तबासका रूपमा विकास गर्न जनताको नेतृत्व गर्ने, जनतासँग एकाकार हुने र जनसम्बन्ध थप सुमधुर बनाउन सिङ्गो पार्टीपङ्क्तिलाई विशेष आह्वान गर्दछौँ । महामारीले निम्त्याएको महासङ्कटको साहस, विवेक, धैर्य र आत्मअनुशासित भएर सामना गर्न आमनेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

१५ वैशाख, २०७७

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>