केही प्रश्न नैतिकताको मापदण्डमाथि – बलराम तिमल्सिना

२०७६ आश्विन २१ गते, मंगलवार

महिलालाई संझेर
धन माल या बस्तु
जुवामा स्वास्नी दाउमा थाप्ने
युधिष्ठिर कसरी धर्मराज भए ?
यदि यही हो धर्मको सर्वोत्तम परिभाषा भने
त्यो धर्मलाई धिक्कार छ ।

गर्भवती श्रीमतीलाई
रातमा जंगलमा छोडेर आउँने
राम कसरी भगवान भए ?
र तिनले चलाएको नारीद्वेशी राज
कसरी राम राज भयो ?
यदि यही हो भने राम राजको अर्थ
त्यो राजलाई खरानी पार्न जरुरी छ ।

प्रेमको नाटक गरी गरी
वर्षौं चुसे पछि यौनरस
अलपत्र पारेर ती युवतीलाई
अरु सोह्र सयसँग सल्कने
कृष्ण कन्हैयाको उदाहरण
कसरी प्रेमको चिनारी भयो ?
यदि कृष्णले राधालाई गरेको व्यवहार
त्यही नै प्रेम हो भने
त्यो प्रेमको हत्या गर्न जरुरी छ ।

युधिष्ठिरको नारी -सोच
रामको नारी- द्वेष
र कृष्णको नारी-भोक
यदि यिनै हुन नैतिक शिक्षा भने
त्यो शिक्षालाई थुक्न जरुरी छ ।

र आज ,
जुवामा स्वास्नी थाप्नु अपराध हो भने
युधिष्ठिर किन सम्मानित छँदैछन् ?
महिला उत्पीडन खराव हो भने
राम किन पूजनीय छन् ?
अनि
बहुस्त्री गमन व्यभिचार हो भने
कृष्ण किन अझै प्रार्थनीय छन् ?
कर्म खराव र कर्ता असल
यस्तो पनि छ र शास्त्रमा ?
र, छ भने
त्यो शास्त्र जलाउँन लायक छ ।

धर्मको नाममा होस
या नैतिकताको नाममा
कसैले सिकाउँछ भने हामीलाई लाजभाँड गर्न
त्यो लाजभाँडलाई खारेज गर्न जरुरी छ ।

एक्काइसौं सताव्दिको युगमा
कतै नैतिक बन्ने लालसा
या धार्मिक बन्ने मोहमा
हामी नाङ्गै हिडिरहेका त छैनौं ?
र कसैले देखाएर हाम्रा गुप्ताङ्गहरू
भनिरहेको त छैन- कुरी कुरी ?

म यी कुराहरू सम्झेर
हतार हतार हेर्दै छु-
आफ्नै कटिबन्धतिर
र लाजले रातो पीरो हुँदै छु !

प्रतिक्रियाहरु