केवल टेलिभिजन र इन्टरनेट बन्द हुन् सक्ने !

२०७६ बैशाख २८ गते, शनिबार

काठमाडौं, २८ बैशाख । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले पोलमा टाँग्ने तारको नयाँ भाडादरमा मंगलबारसम्म सम्झौता नगरे तार काट्न सुरु गरिने बताएका छन् । घिसिङले व्यवसायीलाई मंगलबार छलफलका लागि बोलाएको र सो दिनसम्म पनि व्यवसायी प्राधिकरणको सम्पर्कमा नआए तार काट्न सुरु गरिने स्पष्ट पारे ।
प्राधिकरणले गत असारमा निर्देशिका संशोधन गरी काठमाडौं उपत्यका वरपर ५०० प्रतिशत र ग्रामीण भेगमा २१०० प्रतिशतसम्म भाडा वृद्धि गरेकोले इन्टरनेट र केबल टेलिभिजनको सेवा दिइरहेका कम्पनीहरू भाडा नतिर्ने अडान राखेका हुन् ।
प्राधिकरणले गत असारमा ‘अप्टिकल फाइबर केबल सेवा सञ्चालन सम्बन्धी निर्देशिका, २०७३’लाई संशोधन गर्दै नयाँ भाडादर कायम गरेको थियो । त्यस अघिसम्म प्राधिकरणले प्रतिपोलको हिसाबमा भाडा लिँदै आएको थियो । निर्देशिका संशोधनपछि तारको मोटाइ अनुसार प्रतिकिलोमिटरका आधारमा शुल्क लिने व्यवस्था छ ।
नयाँ व्यवस्था अनुसार प्राधिकरणको ३३ केभीए प्रसारण लाइनको पोलबाट एडीएसएस फाइबर ताने बापत प्राधिकरणलाई मासिक प्रतिकिमी रू. ३०० भाडा तिर्नुपर्नेछ । यस्तै, ३३ केभी प्रसारण लाइनको पोलबाट फाइबर ताने बापत २४ कोर मोटाइसम्मको तार प्रयोग गर्नेले मासिक प्रतिकिमी रू. १ हजार २०० भाडा तिर्नुपर्नेछ । २५ देखि ४८ कोरसम्मको तार प्रयोग गर्ने कम्पनीले प्रतिकिमी मासिक रू. १ हजार ९०० सय र ४८ कोरभन्दा बढी मोटाइको फाइबर प्रयोग गर्नेले प्रतिकिमी मासिक रू. २ हजार ७०० भाडा तिर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको छ ।
नेपाल केबल एशोसिएशन तथा सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले काठमाडौं उपत्यका वरपर ५०० प्रतिशत र ग्रामीण भेगमा २१०० प्रतिशतसम्म पोल प्रयोग बापतको भाडा प्राधिकरणले वृद्धि गरेको बताए । ‘त्यति महँगो भाडा तिरेर भी–स्याट सेवा दिन सकिँदैन,’ उनले भने, ‘प्राधिकरणले तार काटे पनि काटोस्, वृद्धि भएको भाडा नतिर्ने अडानमा छौं ।’ ऊर्जा र सञ्चार मन्त्रालयमा समस्या समाधानका लागि आग्रह गरिए पनि पन्छिने गरेको उनको दाबी छ । भायोनेट कम्युनिकेशन प्रालिका अध्यक्ष विनय बोहराले पोलको भाडा बढाउने प्राधिकरणको प्रक्रिया जायज नभएको बताए ।
‘तिर्नै नसक्नेगरी भाडा तोकिएपछि हामी पछाडि हटेका हौं,’ उनले भने, ‘सरकारले इन्टरनेटमा १३ प्रतिशत भ्याट लगायो, त्यसलाई समायोजन ग¥यौं । फेरि पोलको भाडा बढाएर हामीले कसरी सेवा दिने ?’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु