कृष्ण सेन ‘इच्छुक’ हरूको बलिदानमाथि ओलीहरूको मनपर्दी – खेम थपलिया

ओ शासक-प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरङ्कुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमान जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ ।
– (कृष्ण सेन ‘इच्छुक’ ः प्रतिबन्ध)
नेपालमा केपी ओली र प्रचण्डको सामाजिक फासिवादी हर्कतले सीमा नाघ्दै गएको छ । आफूलाई कम्युनिस्ट पार्टी नै भएको दावी गर्ने उहाँहरूले नेतृत्व गर्नुभएको पार्टी र त्यो पार्टीको नेतृत्वको सरकारले कमरेड विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको छ । फासिवादी सरकारले उक्त पार्टीका करिब छ सय नेता–कार्यकर्तालाई जेल तथा हिरासतमाा राखेको छ । त्यति मात्र होइन, मुठभेडको नाममा इन्काउन्टर गर्दै भोजपुरमा तीर्थ घिमिरेको ज्यान लिएको छ । यो सरकारले सुर्खेतका लेखक तथा साहित्यकार सिद्धबहादुर खड्का र काठमामाडौं रसुवाली कविलाई हिरासतमा राखेर यातना दिएको छ । देशभर दर्जनौँ लेखक, कवि, कलाकार तथा साहित्यकारहरू जेल तथा हिरासतमा हुनुहुन्छ । देश तथा विदेशमा नेपाल सरकारको यस किसिमका फासिवादी कदमको तीव्र रोष र विरोध गरिएको छ । एकीकृत जनक्रान्तिको शक्तिशाली प्रवाहलाई रोक्न भनेर नै दलाल तथा सामाजिक फासिवादी सरकारले क्रान्तिकारीहरूका मुख थुन्न, हात बाँध्न, पाइताला रोक्न अन्यायपूर्ण प्रतिबन्ध लगाए पनि फासिवादी सरकारका हरेक आदेशलाई लत्याउँदै क्रान्तिकारीहरू निरन्तर एकीकृत जनक्रान्तिपथमा अघि बढिरहेका छन् ।
हामी यतिबेला महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा सांस्कृतिक बलिदान दिवस देशैभर मनाउँदैछौँ । नेपाली धर्तीमा चलेको वर्गयुद्धमा इच्छुकलगायत एकसय सत्तरीभन्दा बढी संस्कृतिकर्मीले गौरवपूर्ण बलिदान प्राप्त गरिसक्नुभएको छ । क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक रहनुभएका इच्छुकलाई आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफ्तारी गरेको थियो । काठमाडौंस्थित तत्कालीन महेन्द्र पुलिस क्लबमा एक सातासम्म निरन्तर निर्मम यातना दिएर जेठ १३ गते उहाँको हत्या गरिएको थियो । २०४६ सालको जनआन्दोलनमार्फत जनताको सीमित नै भए पनि हक–अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएका इच्छुकको त्यसको रगत–पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उहाँको रगतलाई घटघटी पियो । मध्ययुगीनशैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई चरम दुरुपयोग गर्दै क्रान्तिकारी कवि तथा योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमायौँ । तत्कालीन काठमाडौंका डीएसपी विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूर्ण यातना दिएका थिए । प्रहरी हिरासतमा उहाँलाई किन्ने प्रयास हुँदा, पार्टीको गोपनीयता भङ्ग गराउन खोज्दा उहाँले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नैअगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भन्नुभएको थियो, “मेरो देशभक्ति मेरो मुटु झिके पनि तपार्इंहरू झिक्न सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।”
सर्वहारा–संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो, “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी समरयोद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर हो । इच्छुक समृद्ध नेपाल र नेपालीको दिशामा कृत–सङ्कल्पित क्रान्तिदूत हुनुहुन्थ्यो । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको बलिदानले सगर चुमेको छ । उहाँको बलिदानीपूर्ण जीवनगाथाले अझ ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ, असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिनुभएका इच्छुकलाई जल्लादहरूका यातनाशिविरमा दिएको चरम यातनाबाट मूच्र्छित भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुश्मनका अँध्यारा कालकोठरीमा दुश्मनकै सामुन्ने क्रान्तिको आगो ओकल्नुहुने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गर्नुभयो । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँ युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथि प्रहार गरिएको गोली हो ।
धेरैको मनमा एउटै कुरा खेलिरहेको छ– इच्छुक आज बाँचिरहनुभएको भए के लेख्नुहुन्थ्यो होला ? के बोल्नुहुन्थ्यो होला ? के गर्नुहुन्थ्यो होला ? अवश्य पनि इच्छुकले आज विष्मयकारी धेरै कुरा देख्न र भोग्न पाउनुहुन्थ्यो । उहाँको बलिदानपश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरूका बीचमा आज राजनीतिक, वैचारिक र सांस्कृतिक मूल्यहरू स्खलित भएका छन् । महान् आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारको बिचल्ली भएको छ । सपनाहरू मरेका छन् । राष्ट्रियतालाई कुर्सीसित साटिएको छ । वर्गदुश्मन केहीका निम्ति हितैषी बनेका छन् । यस्तो बेला नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चौतर्फी चुनौतीका बीचमा क्रान्तिको रातोझन्डा उठाउनुभएको छ । यसलाई पनि दुषित हावाको झोक्काले ढलाउने प्रपञ्च भइरहे पनि निरन्तर सङ्घर्षको बीच फेरि पनि एकीकृत जनक्रान्ति उठिरहेको छ । इच्छुक आज भौतिक रूपमा हामीबीच हुनुभएको भए विसङ्गत जीवनका विरुद्ध कविताका माध्यमबाट आगो ओकल्नुहुन्थ्यो र ढँटुवाहरूलाई झापड हान्नुहुन्थ्यो । यतिखेर हाामीलाई लु सुनले भन्नुभएजस्तै आफ्नासित आँखा जुधाएर र दुश्मनसित औंला ठड्याएर कुरा गर्ने कविता चाहिएको छ । हाम्रो वैचारिक स्कुलिङ नै यस्तै थियो । इच्छुक आज हुनुभएको भए निश्चय पनि हाम्रो साहित्यिक–सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको माथिल्लो उचाइमा हुन्थ्यो ! अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष जेठ १३ लाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । हामी यस सन्दर्भमा फेरि पनि एकपटक महान् सांस्कृतिक सहिद इच्छुकलाई हार्दिकतापूर्वक क्रान्तिकारी अभिवादन गर्न चाहन्छौँ ।
समकालीन नेपाली राजनीति अत्यन्त चुनौतीका माझ उभिएको छ । सत्तामा दलाल तथा सामाजिक फासिवादीहरूको रजगज छ । यस्तो बेला माक्र्सवादी कवि, कलाकार तथा लेखकहरूको दायित्व कैयौँगुणा बढेको हुन्छ । राजनीतिक क्षेत्रमा जस्तै सांस्कृतिक फाँटमा पनि गम्भीर चुनौतीहरू नभएका होइनन् । माक्र्सवादी स्रष्टाहरूले यतिबेला मालेमावादको सैद्धान्तिक पथप्रदर्शनलाई गहिरोसित आत्मसात गरी समकालीन संस्कृति, साहित्य र कलाको क्षेत्रमा सशक्त हस्तक्षेप गर्न आवश्यक छ । सामन्तवाद, भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद, दलाल तथा फासिवादी संसद्वादका विरुद्धको विचारधारात्मक सङ्घर्षलाई प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनुपर्दछ । हामीलाई थाहा छ, कविता पनि वर्गीय हुन्छ । वर्गसमाजमा राजनीतिजस्तै साहित्य, कला र संस्कृतिको स्वरूप पनि वर्गीय हुन्छ । वर्गीय प्रतिबद्धता भएन भने त्यो कविता क–कविता बन्न पुग्दछ । त्यसैले आजका कविले वर्गीय प्रतिवद्धतालाई केन्द्र्रमा राखेर कवितामार्फत फासिवादी शिविरमा विष्फोट गर्न आवश्यक छ ।
संस्कृतिकर्मीहरूले राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्नुपर्दछ । आज हामीकहाँ बाह्य संस्कृति हाबी बन्दै गइरहेको छ । आन्दोलनमा सांस्कृतिक साम्राज्यवाद र उपभोक्तावादी संस्कृतिको व्यापक घुसपैठ, राष्ट्रिय संस्कृति र चिन्तनको मौलिक पहिचानका विरुद्ध उत्तरआधुनिकवादी सांस्कृतिक वर्णशङ्करता, पुनर्लेखन, पुनर्गायनजस्ता मान्यताको पक्षपोषण, साम्राज्यवादी श्रेष्ठताको प्रचार–प्रसारजस्ता परिघटना बढ्दै गएका छन् । देशको राष्ट्रिय अस्मिता, स्वत्व र स्वाभिमान गम्भीर खतरामा परेको छ । यतिखेर राष्ट्रिय अस्मिता र स्वाभिमानको विषयलाई हामीले पहिलो कार्यसूचीमा राख्नुपर्दछ । आज मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम आदि शोषित पीडित वर्ग र समुदायका हकहितमाथि गम्भीर कुठाराघात भएको छ । समाजमा धार्मिक अन्धविश्वास, रुढिबुढी, धामी–झाँक्री, बोक्सीप्रथा, छुवाछुत, पुनर्जन्म–पुर्वजन्म जस्ता सोंच अझै कायम छन् । आदर्शवाद, ईश्वरवाद, रहस्यवाद र अध्यात्मवादलाई अझै पनि मलजल हाल्न खोजिंदैछ । नेपाललाई इसाईकरण गर्न खोजिँदैछ । यसमा समकालीन संस्कृतिकर्मीहरू निकै चनाखो बन्न आवश्यक छ । समकालीन संस्कृतिकर्मीहरूले सत्य, शिव र सुन्दरलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, जनताको जनवाद र साम्यवादको उदात्त आदर्शसित जोडेर विकसित तुल्याउनुपर्दछ ।
संस्कृतिकर्मीहरू सांस्कृतिक आदर्शको प्रश्नमा गम्भीर हुन आवश्यक छ । यो सांस्कृतिक मूल्यबोधको आधार पनि हो । सांस्कृतिक आदर्श भनेको सम्बन्ध ज्ञान, वर्ग तथा जनहित र सामञ्जस्यपूर्ण जीवनसित सम्बन्ध हो । यसले मुक्तिका निम्ति जीवनको उत्सर्ग गर्ने अमर सहिदहरू, बेपत्ता पारिएका योद्धाहरू र घाइते–अपाङ्गका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमानद्वारा आलोकित हुन्छ । ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरोन्नति आजको आवश्यकता हो । वर्गीय, सांस्कृतिक तथा भावनात्मक रूपान्तरणमा जोड दिंदै दुनियाँ बुझ्ने मात्र ठूलो कुरा होइन, बदल्नु मात्र पनि होइन; बदलिएको चीजको रक्षा र विकास गर्नु महत्वपूर्ण कुरा हो भन्ने कुरालाई संस्कृतिकर्मीहरूले बुझ्न जरुरी छ । वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने ध्येयका साथ हामीले सकारात्मक रूपान्तरणको मूल्य र आन्दोलनलाई केन्द्रमा राखेर आफ्नो सांस्कृतिक गतिविधि तीव्र बनाउनुुपर्दछ । रूपान्तरणको अर्को अर्थ आन्दोलन हो । यो वर्गसङ्घर्ष, दुईलाइन सङ्घर्ष र आत्मसङ्घर्षसित सम्बन्धित छ । सांस्कृतिक रूपान्तरणको कुरा गर्दा महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई केन्द्रमा राख्नैपर्दछ । सबैखाले जनविरोधी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा–संस्कृतिको अवलम्बन गर्नुपर्दछ । कला–साहित्य, संस्कृतिलाई समाजवादी यथार्थवादद्वारा आलोकित हुन्छ भन्ने कुरा सांस्कृतिक आन्दोलनको कखरा नै हो ।
संस्कृतिकर्मीहरूले निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्न आवश्यक छ । राजनीतिक क्रान्तिहरू सम्पन्न भइसकेपछि पनि सांस्कृतिक आन्दोलनको कार्यभार बाँकी रहन्छ । यसको चरित्र पनि दीर्घकालिक हुने गर्दछ । यो तुरुन्ताको तुरुन्त हुने विषय होइन । चीनमा माओले पुँजीवादीको शिरोच्छेदन गर्न सांस्कृतिक क्रान्ति गर्नुपर्नाका कारण निकै मननीय छन् । मध्यमवर्गलाई रूपान्तरणको अभियानमा गोलबन्द गर्दै क्रान्तिको, परिवर्तनको, रूपान्तरणको सेवामा लगाएर मात्र आजको दुनियाँमा हामी अघि बढ्न सक्तछौँ । मध्यमवर्गमा रहेको राष्ट्रवादी चेतना र परिवर्तन–आकाङ्क्षालाई मूर्तीकृत गर्न संस्कृतिकर्मीलेहरूले विशेष ध्यान दिनैपर्दछ । यो सांस्कृतिक चिन्तनधारासित सम्बन्धित विषय हो । इच्छुकको जीवनधारा र विचारधाराको अध्ययनबाट यसबारे हामी निष्कर्षमा पुग्न सक्छौँ ।
इच्छुकमा चिनियाँ सांस्कृतिक क्रान्तिको गहिरो प्रभाव परेको पाइन्छ । हुन नेपालका जनपक्षीय लेखक, साहियकार तथा कलाकर्मीहरू यसबारे धेरथोर परिचित नै छन् । माक्र्सवादी सौन्दर्यचिन्तनको विकासमा प्लेखानोभ गोर्की, लुनाचास्र्की, लु सुन, क्रिस्टोफर कड्वेल, राल्फ फाक्स, ज्दानोभ, हावर्ड फास्ट, जर्ज लुकाच, फिसर थोम्सनजस्ता कला–चिन्तकहरूले पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । माक्र्सदेखि माओसम्मका अग्रजहरूले यसबारेमा स्पष्ट मार्गदर्शन दिनुभएको छ । माओले कला–साहित्य र संस्कृतिका क्षेत्रमा पु¥याउनुभएको योगदानबारे नेपालका जनपक्षीय संस्कृतिकर्मी अनभिज्ञ छैनन् । हामीले माओको ‘नौलो जनवादी संस्कृति’, ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ र ‘सांस्कृतिक कार्यमा संयुक्त मोर्चा’ जस्ता रचना अध्ययन गर्नैपर्दछ । ‘नयाँ जनवादी संस्कृति’ सम्बन्धी रचना तयार पारेर माओले नयाँ संस्कृति र सांस्कृतिक आन्दोलनको दिशालाई सुस्पष्ट पार्नुभयो भने ‘येनान गोष्ठीमा कला र साहित्यबारे प्रवचन’ द्वारा कला–साहित्यका क्षेत्रमा प्रचलित गलत दृष्टिकोणको चिरफार गर्नुका साथै लेखक–कलाकारलाई माक्र्सवादको अध्ययन गर्न र सही विश्वदृष्टिकोण अपनाउन जोड दिनुभयो । माओले बुद्धिजीवी क्षेत्रबाट आएका लेखक–कलाकारको भावनात्मक रूपान्तरणमा पनि अत्यधिक जोड दिनुभएको थियो । यही आलोकमा कुनै पनि व्यक्तिले आफ्नो पुनःसंस्कार नगरीकन आम जनताको मुक्ति र क्रान्तिका निम्ति सुयोग्य बन्न र यथेस्ट सहयोग गर्न नसकिने एवम् सिद्धान्तलाई जीवन–व्यवहार नउतारीकन रूपान्तरणका काम फलशाली र बलशाली नहुने कुरामा कृष्ण सेन ‘इच्छुक’ को जोड पनि थियो ।
महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा सांस्कृतिक बलिदान दिवस मनाउनुको अर्थ माओले सल्काउनुभएको र इच्छुकले पक्रनुभएको क्रान्तिकारी मसाललाई आफ्नो सिर्जन, चिन्तन तथा कर्ममा अझै प्रज्वलित गर्दै दलाल तथा सामाजिक फासिवादी सत्ताका विरुद्ध सङ्घर्ष गर्नु हो । आज सबै परिवर्तनकामी स्रष्टाहरू सामाजिक फासिवादका विरुद्ध लड्न आवश्यक छ । तिनको सशक्त प्रतिरोध गर्न आवश्यक छ । सांस्कृतिक प्रतिरोध र त्यसमा विजयी भएर मात्र हामीले इच्छुकहरूले देखेको सपना पूरा गर्न सक्नेछौँ । यसरी मात्र सांस्कृतिक बलिदान दिवसको ओज र गरिमालाई उँचो हुनेछ । चोभारको जङ्गलमा कवि इच्छुकको छातीमा दागिएको त्यो गोली आज ओली, प्रचण्ड, बादलहरूले अन्धाधुन्ध प्रहार गर्दैछन् । कुनै पनि बेला सहरबस्ती वा कुनै अनकन्टार ठाउँमा ओली सरकारले कलाकार, कवि, नाटककार वा साहित्यकार जो कोहीलाई पनि गोली हानेर ढालिदियो भन्ने समाचार आउन सक्छ । आज ‘इच्छुकहरूको बलिदानमाथि ओली–प्रचण्डहरू मनपर्दी गरिरहेछन् । भौतिक रूपमा इच्छुक हामीसत हुनुहुन्न तर इच्छुकको छातीमा दागिएको त्यो गोली दुश्मनको साथमा अझै पनि सुरक्षित छ, जुन गोली कुनै पनि कविको छातीमा जतिबेला पनि प्रहार हुन सक्छ । यस्तो बेला कविजी तपाईं के गर्नुहुन्छ ?

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>