कृत्रिम बादल – ओमप्रकाश पुन

ए देशीविदेशी महाप्रभुहरु हो
तिमीले सोचेका थियौ
यो त जनयुद्धको भेलमा गड्किने बादल हो
यो त वर्षात्मा झरी वर्षाउने बादल हो
यो त पुस–माघमा सग्यो लगाउने बादल हो
यो त आकाशबाट चट्याङ पार्ने बादल हो

त्यसैले त हाम्राविरुद्ध बादलको वर्षा गराउन खोज्यौ
हामीमाथि चट्याङ पार्न खोज्यौ
हामीलाई हिउँदको चिसोले ठिङ्ग्य्राउन खोज्यौ
हामीलाई काली साउनको भेलले रोक्न खोज्यौ
हामीलाई मुसलधारे पानीले लुथ्रुक्कै भिजाउन खोज्यौ

तर, हामी कत्ति पनि भिजेनौं
हामी कत्ति पनि तर्सिएनौं
हामी कत्ति पनि हच्किएनौं
हामी कत्ति पनि चिसिएनौं

किनकि त्यो कृत्रिम बादल थियो
उसको गर्जन खोक्रो थियो
उसको वर्षा क्षणिक थियो

त्यसैले त हामी,
दावा नालझैं अघि बढ्यौं
पर्खालभित्र होस् वा बाहिर होस्
हामीले क्रान्तिको ज्वाला बालिरह्यौं
मुक्तिका गीत गाइरह्यौं
स्वतन्त्रताका नारा लगाइरह्यौं
तिम्रा हर यातनाका दस्तावेजहरुमा
निर्धक्क हस्ताक्षर गर्दै अघि बढ्यौं

जसबाट हार खाएर
आखिर तिम्रो कृत्रिम बादल
आफैं फाट्न बाध्य भयो
सत्यताको नीलो आकाशमा
आफैं हराउन बाध्य भयो

किनकि त्यो कृत्रिम बादल
समुन्द्रको ज्वारभाटाबाट उठेको थिएन
बरु त्यसबाट कुनैबेला हराएको थियो
न त त्यसमा वर्षा थियो
न त त्यसमा चट्याङ थियो
मात्र त्यसमा कृत्रिम हुस्सु थियो
त्यसलाई उठाउने पुरानो प्रविधि थियो
त्यसैले त उसले चट्याङ पार्न सकेन
त्यसैले त उसले पानी वर्षाउन सकेन
र,
अन्ततः ऊ सबै ठाउँबाट
लज्जित र भयभीत भएर फाट्यो
किनकि ऊ प्राणबिनाको
कृत्रिम बादल थियो

२०७५-०६-१७ (दरबार मार्ग प्रहरी हिरासत, काठमाडौं)

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>