कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

२०७५ आश्विन १४ गते, आईतवार

काठमाडौं, १४ असोज । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् । ‘यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,’ प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन् प्रणालीबारे अध्ययन गरिरहेका छन् ।
सिंहले गत अगस्ट २५ मा दुईवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनीहरु दुवै स्वस्थ र सामान्य छन्, विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले बताए । उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो ।
‘हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य सङ्कलन गरेका थियौं,’ ग्यान्सविन्टले भने । त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रुपबाट गर्भाधान गराइएको थियो । ‘भाग्यवस, यो सफल भयो,’ ग्यान्सविन्टले थपे, ‘विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नु परेन ।’ उनले यो सफलतालाई विस्तार गर्न सकिने बताए । वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।
अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजारमात्र सिंह बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ ।
‘हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छन्,’ ग्यान्सविन्टले बताए । उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानु पर्ने अवस्थाको अब अन्त्य भएको बताए । नयाँ प्रविधिको प्रयोग मार्फत अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ ।
सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो । तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । ‘दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,’ बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले बताए । ‘यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,’ उनले भने ।
अठार वटा अन्तर्राष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाहरुले वैज्ञानिकहरुलाई एक पत्र लेखी अध्ययनप्रति विमती जनाएका छन् ।- रासस/एएफपी

प्रतिक्रियाहरु