किसानहरु रित्तो बोरा बोकेर आन्दोलनमा

२०७६ जेष्ठ २० गते, सोमबार

काठमाडौं, २० जेठ । धादिङबेशीका किसानहरु बालीनालीमा मल राख्नुपर्ने बेला भएपनि बजारमा मल उपलब्ध नभएपछि रित्तो बोरा बोकेर आन्दोलनमा उत्रिएकाछन् । सरकारले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको भनिए पनि किसानहरु भने मल, बीउ, सिँचाइ लगायतका आधारभूत समस्यामा पिल्सिएका छन् । चाहिएको बेलामा मल किन्न नपाएपछि किसानहरुले पटकपटक हैरानी बेहोर्नुपरेको छ । मलको लागि दिनहुँ सदरमुकाम धाउँदासमेत मल उपलब्ध नभएपछि धादिङबेशीका किसानहरु आन्दोलित भएका छन् । आफूहरुले सहज रुपमा मल पाउनुपर्ने माग राख्दै रित्तो बोरा बोकेर आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । पानी परेपछिको मौसम मल हाल्नको लागि अनुकूल भएको र मल हालेर बालीनाली गोड्दा राम्रो उब्जनी हुने भएकाले मल लिन नीलकण्ठ सहकारीमा किसानहरु बिहान ६ बजेदेखि लाइन लागेका थिए । तर सहकारीले २ सय बोरा मात्र मल आएकाले सबैलाई बाँड्न नसक्ने बताएपछि किसानहरु आक्रोशित बनेका हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु