कांग्रेस केन्द्रीय समितिको बैठक जारी

२०७२ कार्तिक १७ गते, मंगलवार

काठमाडौं,१७ कात्तिक । नेपाली कांग्रेसको आइतबारदेखि जारी केन्द्रीय समितिको बैठक आजपनि जारी रहने बताइएको छ। बैठकमा पार्टीको नेतृत्वका बारेमा छलफल भइरहेको बताइएको छ । बैठक आजपनि बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने बताइएको छ ।
यसअघि सोमबार भएको छलफलमा केन्द्रीय समितिका अधिकांस नेताहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा कांग्रेसले दिएको उम्मेदवारीका विषयमा मिश्रित धारणा राखेका थिए । बैठकमा कतिपय केन्द्रीय सदस्यले कांग्रेसले बिना तयारी प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा उम्मेदवारी दिएर ठूलो गल्ती गरेको र यसमा गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखेका छन् । उनीहरुले सरकारका उच्च पद गुमाएर कांग्रेसलाई क्षति भएको तर्क राखेका छन् । बैठकमा आसन्न १३औँ महाधिवेशन तयारीका सम्बन्धमा समेत छलफल भएको थियो । यसबाहेक केही केन्द्रीय सदस्यहरुले तराई-मधेसको आन्दोलनलाई गम्भीररुपमा लिएर सम्बोधन गर्न काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राखेका छन् । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदमा कांग्रेसले दिएको उम्मेदवारी सम्बन्धमा तीन शीर्ष नेताको आधिकारिक धारणा माग गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु