करारका कारिन्दा – बलराम तिमल्सिना

२०७५ बैशाख २२ गते, शनिबार

रक्सीले झ्वाम पारेर विवेक
पैसाले किनेर आत्म निर्णयको आत्मा
छलवल र दलवलले किचेर मानिसलाई
अनैतिकताको सीमान्त विस्तार गरी
साहुहरूको डिजायनमा
साहुहरूकै पैसामा
साहुहरूको काम गर्ने कसम खाएर
धोका दिन जनतालाई
थरी थरीका झण्डा बोकेर
जव छिर्छन झुण्डहरू सिंहदरवार
धेरैलाई भ्रम पर्छ –
यी जनताका प्रतिनिधी हुन भनेर !

लाख खर्चेर करोड उठाउँने
करोड खर्चेर अरव उठाउँने
साहुहरूले मात्रै खेल्न सक्ने
कुनै एउटा साहुले मात्र जित्ने
यो सवैभन्दा ठूलो अनैतिक कृया व्यापारलाई
साहुहरूले भनिदिन्छन्-
यो लोकतन्त्रको सुन्दरता हो ।
झण्डै झण्डै शासन गरेको छ
असंख्य सोझाहरूमाथि
यही अनैतिक “सुन्दरता”ले
यो सवैभन्दा कुरुप कुरालाई
खकारेर थुक्ने आँट नगरेसम्म
हामीहरू लगातार किनिइरहने छौं
साहुहरूले किनिरहनेछन् हामीलाई !

मतदाताहरूले सोचौं
हामीले गर्ने मतको किनवेच
देहव्यापारभन्दा घटिया छ
घटिया व्यापारबाट निस्कने परिणाम
कहिलै बढिया हुदैहुदैन
कहिलै नैतिक हुदैहुदैन ।

अर्को यौटा भ्रम पनि छ-
तथाकथित यी निर्वाचितहरू
मतदाताका प्रतिनिधि हुन ।
यो सोह्रै आना झुठ हो
यिनीहरू त करारका कारिन्दा हुन
आधुनिक साहुहरूका
यिनीहरू जे गर्छन
साहुहरूकै आदेश तामेली गर्छन
चार वर्ष जनता रिसाएर केही फरक पर्दैन
फेरि झुम्म बनाएर मत किन्ने
रक्सीको पोखरी तयार छ
पैसाको पहाड तयार छ
हामी उसै गरी लुटिने छौं पाँचौं वर्ष
जसरी पोहोर साल लुटिएका थियौं ।

के हामी वेस्यावृत्ति नगर्न तयार छौं ?
छौं भने अर्को बाटो पनि छ
साहुहरूलाई घाममा सुकाइदिऊँ
र हामी हाम्रो बाटो लागौं !

प्रतिक्रियाहरु