कठघरामा प्रेम – बलराम तिमल्सिना

वलियोले निर्धोलाई
धनीले गरीवलाई
मालिकले दासलाई
उपल्लो भनिएकोले
तल्लो भनिएकोलाई
प्रेम गर्दैन घृणा गर्छ
बढी गर्यो भने दया गर्छ
कहाँ दया कहाँ प्रेम ?

प्रेमको लागि सर्त हुन्छ-
परस्पर समानताको समझदारी
र व्यक्तिगत स्वतन्त्रताको छुट !

आजसम्म गरिएका
प्रेम भनिएका प्रेमहरू
ती कुनै पनि प्राय प्रेम होइनन्
आजसम्म लेखिएका
समस्त प्रेमका भनिएका गीतहरू
ती कुनै पनि प्राय प्रेम गीत होइनन् !

प्रेम उता कैदी छ झ्यालखानामा
एता कहाँबाट आउँछ ऊ !

यो चुरिफुरी गर्दै हिड्ने जिनिस-
कि पति परमेश्वरको आरती हो
कि महिला शरीरका अङ्ग अङ्गको
आशक्तियुक्त ज्यादती हो !

जव समान हुदैनन् महिला-पुरुष
जव पुरुष पति-परमेश्वर रहिरहन्छ
यो दास र मालिकको वाँझो जमीनमा
प्रेम उम्रन असंभव छ
कदाचित उम्रिए पनि
प्रेमले वाँच्न बर्जित छ !

हरेक दिन अखवारले लेख्छ-
‘तल्लो जातिसँग प्रेम भएपछि
बाबु-आमा र परिवार मिलेर
जवान छोरीको हत्या !’

मान्छेलाई घृणा गरेर
जसलाई प्रेम गर्ने भन्ने हो
उसलाई हातकी खेलौना बनाएर
हामी प्रेमको नाटक गरिरहेका छौं !

सच्चा प्रेम त कैदी छ
आज पनि ऊ कठघरामा छ
प्रत्येक बहसपछि
कुटेर या जलाएर मार्ने
फाँसी या जन्म कैदको
फैसला सुनाइरहेछ आदिम अदालत !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>