एमसीसीसम्झौता खारेज गर्न माग

२०७६ पुष २८ गते, सोमबार

काठमाडाैं, २७ पुष । राष्ट्रिय जागरण मंचले आयोजना गरेको ‘हिन्द प्रशान्त रणनीति, एमसीसी र नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसीसी अगाडि सारेको बताउदै अहिलेकै अवस्थामा एमसीसी संसदबाट पारित गरे नेपाल खाडी मुलुकजस्तै युद्धभूमी बन्ने खतरा रहेको ठोकुवा गरे ।
कार्यक्रममा बोल्दै सत्तारुढ (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले एमसीसी सैन्य रणनीति भएको बताए । उनले इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै एमसीसी पनि उसैको अंग भएको अमेरिकाले बताइसकेको बताए । एमसीसी विद्युत विकास भन्दापनि चीनले अगाडि सारेको बिआरआईलाई अबरोध गर्ने नियतका साथ ल्याइएको पोखरेलले बताए ।
सम्झौतालाई नेपालको कानुनभन्दा माथि राखिएको भन्दै पोखरेलले आपत्ति जनाए । उनले देशको कानुनलाई विस्थापित गर्नेगरी अमेरिकासँग एमसीसी सम्झौता गर्नु राष्ट्रिय स्वाधिनताको विरुद्धमा भएको बताए । एक अर्को प्रसंगमा बोल्दै पोखरेलले एमसीसीसँग गरिएको सम्झौताअनुसार विद्युत निर्यत गरेर देश समृद्ध नहुने दाबी समेत गरे । “विद्युत कच्चा पदार्थ हो, कच्चा पदार्थ निर्यत गर्ने कुनैपनि मुलुक समृद्ध भएका छैनन् । विद्युत निर्यत होइन देशमै खपत गर्नुपर्छ” पोखरेलले भने । उनले एमसीसीबारे आफ्नो पार्टीभित्र व्यापक छलफल भइरहेको बताउँदै अहिलेकै अवस्थामा कदापी पास हुन नदिने बताए ।
नेकपा (क्रान्तिकारी माओवादी)का पोलिट्ब्यूरो सदस्य इन्द्रमोहन सिंदेलले एमसीसी सम्झौता राष्ट्रघाती भएको बताउँदै संसदबाट पारित भएर लागु भए नेपालको स्वाधिनता समाप्त हुने बताए । उनले चीन विरुद्ध नेपालीभूमी प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी आएको भन्दै खारेज हुनुपर्ने बताए । एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएपनि राष्ट्रघाती भएको बताउँदै खारेज हुनुपर्ने बताए । त्यसविरुद्ध आफ्नो पार्टी सडक संघर्षमा रहेको समेत बताए ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकालले चीनविरुद्ध नेपालीभूमीलाई उपयोग गर्न अमेरिकाले एमसीसी अगाडि ल्याएको भन्दै खारेज गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष प्रचण्डले देश र जनताप्रति जिम्मेवार नभएकै कारण एमसीसी सम्झौता भएको ढकालले बताए । उनले सम्झौता खारेजीको लागि सम्पूर्ण जनता सडकमा आउने बेला आएको बताए ।
कार्यक्रममा बरिष्ठ अधिबक्ता स्वागत नेपालले एमसीसीलाई नेपालको कानुनभन्दा माथि राखिएको बताउँदै देश र जनताको हितविरुद्धमा भएको बताए । उनले एमसीसी राष्ट्रघाती भएपनि संसदलाई पारित गर्ने तयारी भइरहेको भन्दै त्यसविरुद्ध जनता प्रतिरोध गर्नुपर्ने बताए । जनअधिकार मंचका उपाध्यक्ष देवबहादुर पौडेललगायत एमसीसी राष्ट्रहित विपरित भएको बताउँदै खारेज गर्नपर्ने धारणा राखेका जिए ।
कार्यक्रममा मंचका संयोजक गुणराज लोहनीले पावर पोइन्टमार्फत एमसीसीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन नरबहादुर कार्कीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु