उत्तर कोरियासँगको वार्तामा अभूतपूर्व प्रगति हुने राष्ट्रपति ट्रम्पको विश्वास

२०७४ फाल्गुन २७ गते, आईतवार

काठमाडौं, २७ फागुन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेतासँग हुन गइरहेको वार्ता अभूतपूर्वरुपमा सफल हुने भविश्यवाणी गरेका छन् । उनले भने, ‘मैले देखेको छु कि हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता निकै सफल हुनेछ र यसले हामीबीचका सबै कुराहरुमा पनि खुलेर कुरागर्ने अवस्था आउने छ ।’
पेन्सिलभानियाका लागि प्रस्थान गर्नुअघि शनिबार सम्वाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले यो प्रतिक्रिया दिएका हुन् । उनले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित रहेको भन्दै यसका लागि जापान र दक्षिण कोरियाको पनि समर्थन र सहयोग रहेको पनि खुलासा गरे । ‘मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा परीक्षण गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ,’ ट्रम्पले भने । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको समाचार हालैमात्र प्रकाशमा आएको थियो ।
भेटवार्ताका लागि उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता उनको सन्देश बोकेर अमेरिका गएका थिए । उनीहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए ।
त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार भएको जनाइएको छ । दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाएका छन् भने आणविणक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गरेका छन् । -रासस/एएफपी)

प्रतिक्रियाहरु