उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलहरु सीमा क्षेत्रतर्फ लैजादैं !

२०७४ भाद्र २१ गते, बुधबार

काठमाण्डौ , २१ भदौ । उत्तर कोरियाले आफ्नो परमाणु हतियार बोक्न सक्ने क्षमताका मिसाइलहरु सीमा क्षेत्रतर्फ सार्न थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले विभिन्न स्रोत उद्धृत गर्दै जनाएका छन् । स्रोतका अनुसार उत्तर कोरियाले थप ब्यालेस्टिक मिसाइल परीक्षणको तयारी गरेको हो । पश्चिमी सीमा क्षेत्रतर्फ ती मिसाइल लगिदैं गरेको स्याटेलाइट तस्वीर प्रकाशमा आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण कोरियाले भने उत्तर कोरियाको भड्काउपूर्ण गतिविधिलाई आफूले सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ । दक्षिण कोरियाली सेना उत्तर कोरियाको कुनै पनि प्रहारको जवाफ दिन तयारी अवस्थामा रहेको समेत बताइएको छ । पश्चिमी सीमालाई उत्तर कोरियाले रोज्नुको पछाडी जापान र अमेरिकालाई निशाना बनाउने अभियान नै मूख्य कारण रहेको विश्लेषकहरुको तर्क छ । ती क्षेप्यास्त्रलाई परीक्षणका लागि लगिएको हो वा परीक्षण भइसकेका क्षेप्यास्त्रलाई तैनाथ गर्न लगिएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको पछिल्लो गतिविधिबारे चिनियाँ समकक्षी सी जिनपिङसँग छलफल गर्ने बताएका छन् । दुई नेताबीच उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरे यता छलफल भएको छैन । विशेषज्ञहरुले उत्तर कोरियाको मानटाप पहाडको स्याटेलाइट तस्वीरको पनि अध्ययन गरिरहेका छन् । हालैको परीक्षणपछि लिइएको तस्वीरमा सो पहाडमा पहिरो अंकित भएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु