उत्तर कोरियामा सिंगापुरको कम्पनीले सामान निर्यात गरेको दाबी

२०७४ फाल्गुन २९ गते, मंगलवार

काठमाडौं, २९ फागुन । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दीका बाबजुद सिंगापुरको कम्पनीले विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ ।
संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ र यो यसै हप्ताभित्र प्रकाशित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ ।
सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको छ । राष्ट्रसंघ र सिंगापुर दुबैले उत्तर कोरियामाथि सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन् । प्योङयाङले लगातार आणविक कार्यक्रम अगाडि बढाइरहेपछि दुई वर्ष यता अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पारिएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु