ईश्वरको अस्तित्वमाथि प्रश्न – बलराम तिमल्सिना

२०७६ जेष्ठ २४ गते, शुक्रबार

भन्छौ-
हरेको प्राणीको दिलमा ईश्वर छ
ल एक छिनलाई मानिदिऊँ छ रे
त्यसो हो भने
के ईश्वर पनि अनैतिक हुन्छ ?
के ईश्वर पनि लोभी हुन्छ ?
परपीडक र खुनी हुन्छ ईश्वर पनि ?
यदि हुदैन भने
किन रोक्दैन ऊ
आफ्ना सन्तानहरूलाई वलात्कार गर्न ?
किन छेक्दैन ऊ
अरुमाथि उत्पीडन गर्न ?
यदि ऊ
सर्व व्यापी छ भने
ऊ अन्तरयामी छ भने
र छ भने सवैभन्दा शक्तिसाली
किन प्रकट हुदैन ऊ
हर उत्पीडनको पूर्व वेलामा
र किन वध गर्दैन ऊ
परपीडक अत्याचारीहरूको ?

ग्याँस च्याम्वरमा
हजारौं निर्दोषहरू मरिरहँदा
तिम्रो ईश्वर के गर्दै थियो ?
के ऊ मधुशालामा मदहोस थियो ?
या हिटलरको घुषले ढाडिएर
ऊ कुम्भकर्ण निद्रामा थियो ?

सिरियामा या प्यालेस्टाइनमा
भियतनाममा या इराकमा
आकासबाट बम खसिरहदा
र खरानी बनिरहदा मानव बस्ती
तिम्रो ईश्वर तिम्रो अल्लाह
तिम्रो यशू तिम्रो भगवान
कुन मधुमासमा थियो ?
एक औंलाले पृथ्वी नचाउँने भनिएको
तिम्रो पाजी ईश्वरले
किन एउटा मिशायल रोक्न सकेन ?
किन एउटा फाइटर झार्न सकेन ?
मार्नेले मारिरहने
र मर्नेहरू मरिरहने हो भने यसै गरी
के काम तिम्रो नामकाजी ईश्वर
जव कि
सिन्को सम्मा सारेको खवर
कहिलै पढिएन तिम्रो ईश्वरले ?

तिम्रो ईश्वरलाई गाली गरेकोमा
मलाई क्षमा गर धर्माती मान्छे
मलाई तिम्रो ईश्वरसँग भेट्न मन छ
र उसलाई सोध्न मन छ –
मान्छेको रगतको भोग खाएर
कति वर्ष शासन गर्न मन छ
ओई मिस्टर ईश्वर ?
मान्छेको भाग खोसेर भोकै राखेर
लड्डु खाएर पेडा खाएर
एक्लै एक्लै जूका झैं ढाडिए
अझै कति वर्ष लुट्नु छ हामीलाई
ओई मिस्टर ईश्वर ?
भक्तहरूको ओत खोसेर
सुनको गजुरमुनि गजधम्म
प्रतिकृयाविहीन मूर्दा मुद्रामा बसेर
हाम्रा दिमागहरूमा
विवेक शून्य भाइरस ठोसेर
अझै कति वर्ष सत्ता चलाउँने तिर्खा छ
ओई पाजी ईश्वर ?

मलाई
तेरो अस्तित्व माथि शङ्का छ
अझ भनौं अविश्वास छ क्षोभ छ
तेरो अस्तित्वको विरोधी अधर्मी म
कतै छस भने आइज
र मलाई श्राप दे
म तेरो श्रापले जलेर
खरानी बन्न तयार छु !

प्रतिक्रियाहरु