‘ईरानले मिसाइल प्रहार गरेर युक्रेनको यात्रु विमान खसाल्यो ‘

२०७६ पुष २५ गते, शुक्रबार

काठमाडौं , २५ पुष । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन । क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न माग समेत गरेको बिबिसीले जनाएको छ । यात्रु बोकेको युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गत बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाको मृत्यु भएको थियो । जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताए । हवाई जहाज दुर्घटनामा क्यानडाका ६३ जना नागरिक थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताए । -एजेन्सी

प्रतिक्रियाहरु