इन्डोनेसियामा भूकम्प : डेढ सयको मृत्यु , हजारौँ संरचना ध्वस्त

काठमाडौं, २२ साउन । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १४० नाघेकाे विभिन्न सञ्चारमाधयमले जनाएका छन् । त्यहाँका सरकारी अधिकारीहरुले भूकम्पका कारण बिचल्लीमा परेका झण्डै दुई हजारबढी पर्यटकहरूलाई पनि उद्धार गरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घर र अन्य भाैतिक संरचनाहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ ।
इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी जियोलोजिकल सर्भेले भने ७.० म्याग्नीच्यूडको भूकम्प गएको बताएको थियो । भूकम्प जमिनको सतहबाट करिब १०.५ किलोमिटर मुनि रहेको थियो ।
इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ । त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् । भूकम्प आएको आधा घण्टा विमानस्थलमा पनि विद्युत कटौती भएकोले अन्यौल छाएको थियो । भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ । यही क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ । २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९.१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>