इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

२०७६ आश्विन २५ गते, शनिबार

काठमाडौं, २५ असोज । इथियोपियाका प्रधानमन्त्री अबिया अहमदलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । नोबेल कमिटीकाअनुसार प्रधानमन्त्री अहमदले इथियोपियाको छिमेकी मुलुक इरिट्रियासँग वर्षौंदेखि जारी द्वन्द्व समाधान गर्न महत्वपूर्ण योगदान गरेवापत् उक्त पुरस्कार दिइएको हो । कमिटीले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री अहमदले इथियोपिया र इरिट्रियाबीच शान्ति स्थापना गर्न तथा अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ ।
नर्वेजियाली नोबेल इन्स्टिच्यूटले पनि सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ । इथियोपियाका प्रधानमन्त्री हाल ४३ वर्षकामात्र छन् । गरिबी र द्वन्द्वको चपेटाबाट गुज्रिरहेको इथियोपियामा शान्ति र विकासको मूल योजनाका साथ अघि बढेका प्रधानमन्त्री अहमदले आर्थिक सुधारका धेरै महत्वाकांक्षी योजना अघि सारेका छन् । र, त्यसले प्रतिफल दिन थालेको इन्स्टिच्यूटकी अध्यक्ष बेरिट रेइस–एन्डरसनले बताइन् ।- रासस/एएफपी

प्रतिक्रियाहरु