इजरायली सैन्य अखडामा आक्रमण

२०७५ बैशाख २७ गते, बिहीबार

काठमाडौं, २७ वैशाख । इरानले सिरिया सीमास्थित इजरायली सैन्य अखडामा हमला गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार गोलन हाइट्सस्थित सिरियासँग सीमा जोडिएको इजरायली सैन्य अखडामा इरानले आक्रमण गरेको हो । इजरायली सैन्य अखडामा इरानले २० वटा रकेट प्रहार गरेको बताइएको छ । सिरियाले भने राजधानी दमास्कस नजिकै इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । सिरियाली सरकारी मिडियाका अनुसार इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
सिरियाली सेनाले दुईवटा इजरायली क्षेप्यास्त्रलाई खसालेको दावीसमेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि इरानले इजरायली सैन्य अखडा लक्षित हमला गरेको हो । इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी निर्णयलाई इजरायलले स्वागत गरेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु