आस्थाको आँचल मुक्तक संङ्ग्रह लोकार्पण

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । मुक्तककार गंगा आचार्यको पहिलो कृति आस्थाको आँचल मुक्तक संङ्ग्रह लोकार्पण भएको छ । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा बुधबारका सम्पन्न भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने प्रा.डा. विष्णुहरि नेपाल र प्रा.डा. गोविन्दमानसिंह कार्कीले विशिष्ट अतिथिको भूमिका ग्रहण गरेका थिए । मणिराज सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन उषा आचार्यमार्फत भएको थियो । मुक्तक विमोचन कार्यक्रममा उपस्थिति सबैमा स्वागत गर्दै सूर्य बस्नेतले संस्थाको प्रगतिबारे जानकारी दिए ।
त्यस्तै विमोचित कृतिमाथि समालोचक डा. विदुर चालिसे र अमृता स्मृतिले समालोनात्मक मन्तव्य प्रस्तुत गरे । कृतिको समीक्षा गर्दै चालिसेले कृतिको नामाकरण प्रकृति, परिवेश, समाजप्रतिको आस्थाको रूपमा भएको बताए । उनले चतुष्पदीय मुक्तक शैली अपनाएको, नौ अक्षरदेखि अठार अक्षरसम्मको हरफको प्रयोग भएको, अक्षरगत असमानता भए पनि आन्तरिक लय संयोजन भएको, मुक्तकमा ललित व्यङ्य रहेको, प्रेम, प्रणय, संस्कृति, राष्ट्रिय चेतना, वैदेशिक हस्तक्षेप, वैदेशिक रोजगारका विविध विषयलाई समेटिएकोले कृति कालजयी रहेको बताउँदै यहाँ कृतिले आफूलाई नै व्यक्त गरेको भान हुने विचार व्यक्त गरे । त्यसैगरी कृतिको समीक्षा गर्दै अमृता स्मृतिले गंगा आचार्य अन्य मुक्तककार भन्दा भिन्न, वाह वाहको लागि नलेखी गहिरो दर्शन र विचारलाई मुक्तकमा व्यक्त गरेको बताइन् । उनले यस सङ्ग्रहका मुक्तक जति पढे पनि नयाँ नयाँ अनुभूति हुने, यसमा यथार्थलाई चित्रण गरिएको र कतै कतै विचारको अन्तद्र्वन्द्वसमेत रहेको बताउँदै कृतिकारलाई सामूहिक तस्बिर भन्दा बाहिर एकल तस्बिरमा आउन सुझाव दिइन् । विशिष्ट अतिथि नेपाल र कार्कीले मुक्तकको सैद्धान्तिक आधार प्रस्तुत गर्दै मुक्तकमा विभिन्न बिम्बको प्रयोग गरिएको भनी यसको औचित्यतामाथि प्रकाश पारे । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पौडेलले यो कृतिमा भावनाको विविधता रहेको र मुक्तकले समाजको समीक्षा बताए । मुक्तककार मुक्तकको पद्धतिमा रहेकोले यी पठनीय रहेको भन्दै कार्यक्रममा गुणात्मक उपस्थिति रहेको बताए ।
उक्त विमोचन समारोहमा बोल्दै कृतिकारले आफूलाई कृति प्रकाशन गर्न हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै जीवन साथी हरिनारायण उपाध्यायकै पूर्ण सहयोग र समर्थनका कारण कृति सार्वजनिक हुन सकेको बताइन् । कार्यक्रममा जयबहादुर चन्द, डा. शेषराज आचार्य, सागर श्रेष्ठ, प्रा. विधान आचार्य, गुप्तबहादुर श्रेष्ठ, राजबाबु श्रेष्ठ ‘सागर’ भगवती अर्याल, रश्मी रिमाल, मुकुन्द न्यौपाने, जसध्वज गुरुङ, शैलेन्द्रकुमार शाह, उपा शंकर, सुशिला शंकर, मालिका केशरी, प्रकाश बस्नेत गफाडी, वासुदेव गुरागार्इँ, हरिप्रसाद पाण्डेय, मेनका पोखरेल, पवित्रा अधिकारी, सविता श्रेष्ठ, रुद्र अधिकारी, निर्मल पराजुली, लुमात्ति चित्रकार, मन्दिरा मधुश्री, सीता बिस्ट, तारा के.सी., द्वारिका कुइँकेल, गोविन्द नेपाल, तारा लम्साल, दिनेशविक्रम थापा, सानु शर्मा, मिशन अधिकारी, लक्ष्मण डंगोल, दीपेन्द्र थापा, रामकुमार पण्डित, तोयानाथ फुँयाल, धरणीधर गुरागार्इँ, गंगा आचार्यलगायतको उपस्थिति रहेको थियो । उपस्थित सबै सर्जकले विमोचित कृतिभित्रबाट मुक्तक वाचन गरेका थिए । कार्यक्रमका अध्यक्ष सिंहले अतिथिहरूलाई मायाको चिनो प्रदान गरी कार्यक्रमको सफलताबारे जानकारी दिदै समापन गरे ।

प्रतिक्रियाहरु