आत्महत्या – बलराम तिमल्सिना

जव पुग्छन्
गद्दारहरूका जिब्रामा झुण्डिन
केही मूल्यवान शब्दहरू
जस्तै-
‘कमरेड’
‘लाल सलाम’
‘समाजवाद’
‘साम्यवाद’
‘क्रान्ति’
‘रुपान्तरण’
त्यसपछि
गद्दारको जिब्रोमा पाशो लागेर
शब्दहरूले आत्महत्या गर्छन्
त्यसपछि ती
लाजभाँडजस्ता सुनिन थाल्छन् ।

जव गद्दारको हातमा पर्छ
सहिदको रगतले रङ्गिएको रातो झण्डा
गद्दारको हातबाट खसेर
रातो रङ्गले पनि आत्महत्या गर्छ
गद्दारका हातमा फहराएका झण्डाहरू
गद्दारले विर्य पुछेको टालोझैं लाग्छन् ।

जव गद्दारलाई माला लगाएर फर्केको
कुनै सरकारी जासुसले कविता कोर्छ
जव,
कवितामा छाद्छ समृध्दि
कवितामा सुसु गर्छ समाजवाद
कवितामा छेर्छ रुपान्तरण
त्यसपछि,
कविताले पनि आत्महत्या गर्छ
उसका कविता
सेना र प्रहरीहरूले गर्ने
अश्लिल गालीजस्तै बन्न पुग्छन् !

गद्दारहरूको अतिक्रमणमा परेर
शब्दहरू र रङ्गहरूले
आत्महत्या गरिरहेछन् यो मौसममा
कमरेड र लाल सलाम भन्नेहरूबाटै
कमरेडहरू खतरामा छन् अचेल
रातो झण्डा बोक्नेहरूबाटै
रातो रङ्ग रङ्ग प्रतिवन्धित छ !

लाल सलामहरू
दाम सलाममा बदलिएका छन्
र कमरेडहरू
नालीका कीरामा फेरिएका छन् !

शब्द र रङ्गहरूले आत्महत्या गरेको
यो उदाश उदाश मौसममा
प्रिय शब्दहरू र रङ्गको नाममा
एउटा शोकसभाको जरुरी छ !

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>