“आतङ्ककारी” सपना – बलराम तिमल्सिना

२०७५ असार ३० गते, शनिबार

श्रमिकहरूद्वारा सत्ता कव्जा ,
सरकारका सवै निकाय भङ्ग
अस्थाई जनपरिषदको घोषणा !

सशस्त्र मजदूरहरू
टुँडिखेलमा परेड खेल्दै
सत्ताका प्रमुखहरू प्राय गिरफ्तार
भाग्दै गर्दा पिछा गरेर
सरकारका प्रमुख
हिमालको फेदीमा प्लेनसहित खसालिए
प्रमुख प्रतिपक्षका नेता
चुरेको जङ्गलमा खसालिए !

मजदूर र राष्ट्रपतिको तलवमा
सय रुपैयाँ मात्रको फरक
सरकार र राज्य प्रमुखहरूका
सवै वैङ्क खाताहरू रोक्का !

निजी वैंक, स्कूल र अस्पताल
सरकारद्वारा खारेज
सवै एनजिओहरू प्रतिवन्धित
कारखानामा मजदूर र मालिकको
बराबरी शेयरको घोषणा !

पाँच वर्षभित्र हरेक नागरिकलाई
एउटा एउटा घर बनाइदिने घोषणा
नागरिकहरू सवै ऋणमुक्त भएको घोषणा
सुगौलीदेखिका सवै संधीहरू खारेज !

शिक्षा सम्पूर्ण रुपमा नि:शुल्क घोषणा
हरेक नागरिकले पाँच वर्ष
निःशुल्क सेवा गर्नु पर्ने नियम जारी !

सम्पत्तिमाथिको निजी स्वामित्व
पाँच वर्ष मात्र कायम रहने
त्यसपछि सवै सम्पत्ति समुदायको साझा हुने !

महिलाहरूलाई शासन सत्तामा
पचास प्रतिशतको व्यवस्था
क्षतिपूर्तिको लागि पाँच वर्ष
साठी प्रतिशत लागू गरिने !

दलितहरूलाई हरेक क्षेत्रमा
पन्ध्र प्रतिशत कोटा
पाँच वर्षलाई क्षतिपूर्तिसहित
बीस प्रतिशत लागू हुने !

एक वर्षभित्रमा
मजदूर कार्यकारी परिषदको चुनाव
मतदातालाई प्रत्याह्वानको अधिकार !

चौध वटा स्वायत्त प्रदेशहरूको घोषणा
हरेक तहमा श्रमिकको संख्या असी प्रतिशत
देशभर खुसीयालीको माहोल
सात दिन विजय सप्ताह मनाइने !

विश्वभरिबाट मिश्रित प्रतिकृया
भारतका कैयन प्रदेशमा विद्रोह
स्थिति कावु बाहिर
अमेरिकाद्वारा रोषपूर्ण प्रतिकृया !

साथीहरू ,
तपाईहरूको पनि सपना सुनौं न
न मिलिहाल्छ कि मसँग !

२०७५|०३|२९
ढल्को

प्रतिक्रियाहरु