आज साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको घुइँचो

२०७५ श्रावण ७ गते, सोमबार

काठमाडौं, ७ साउन । आज साउनको पहिलो सोमवार । आज हिन्दू धर्मावलम्बी महिलाहरु भगवान महादेवको व्रत बसी पूजा आराधना गर्दैछन् । साउनमा रातो, हरियो पहिरनमा सजिएका महिलाहरु भगवान शिवजीको आराधना गर्ने गर्दछन् । यस दिन शिवजीका भक्तहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा विहानैदेखि भक्तजनहरु पूजा अर्चनाका लागि पुगेका छन् । साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ ।
यसैगरी , हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः केही परबाट पनि तीर्थयात्री आउन थालेका छन् । देवघाटमा स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वासका साथ सर्वसाधारण आउने क्रम जारी छ ।
यसैगरी तराईका जिल्लामा भने साउन १४ गतेबाट मात्र बोलबम मेला शुरु हुने भएकाले सोपश्चात् भक्तजन बढ्ने छन् । देवघाट क्षेत्र विकास समितिले नदीको बाहव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । आज दिनभरमा एक लाख ५० हजार भक्तजन देवघाट आउने अनुमान समितिले गरेको छ । गत वर्ष सूर्य अस्त भएकाले तीन लाख हाराहारी मात्र तीर्थयात्री देवघाट आएकोमा यो वर्ष पाँच लाख पुग्ने अनुमान समितिको छ ।

प्रतिक्रियाहरु