आज विश्व मधुमेह दिवस

२०७४ कार्तिक २८ गते, मंगलवार

काठमाडौँ, २८ कात्तिक । आज विश्व मधुमेह दिवस, अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभरि १९९ लाख महिला मधुमेहबाट ग्रसित रहेको तथ्यांक छ । मधुमेहका कारण प्रत्येक १० मध्ये एकजना महिला मधुमेहका बिरामी हुने बताइन्छ । प्रत्येक पाँचमध्ये दुईजना महिला प्रजनन उमेर समूहअन्तर्गतका रहेको र मधुमेह महिलामा मृत्युको प्रमुख कारणमध्ये नवौँ कारण रहेको चिकित्सकको भनाइ छ ।
यस वर्ष ‘महिला र मधुमेह ः स्वस्थ भविष्य हाम्रो अधिकार’ भन्ने नाराका साथ आज विश्व मधुमेह दिवस मनाइँदैछ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसक्ने चिकित्सक बताउँछन् ।
नेपालमा अहिले नौ लाखभन्दा बढी मानिसमा मधुमेह भएको अनुमान छ । विश्व स्वास्थ्य संघका अनुसार विश्वमा प्रत्येक १० सेकेण्डमा एकजना व्यक्ति मधुमेहको बिरामी बन्ने गरेका छन् भने एकजनाभन्दा बढीको मधुमेहजन्य रोगको समस्याकै कारण मृत्यु हुने गरेको छ । विश्व मधुमेह महासंघका अनुसार सन् २०१५ मा विश्वभरमा ५० लाख मानिसको मधुमेह रोगका कारण मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु