आज बजेट भाषण

२०७६ जेष्ठ १५ गते, बुधबार

काठमाडौं, १५ जेठ । । सरकारले संघीय संसद्को आज अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्ने छन । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो । बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । बजेट लेखनको सम्पूर्ण तयारी सकिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । करीब रु १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको छ ।
चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आवको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयमुखी बनाउने लक्ष्य राखेको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु