आज आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती

२०७४ असार २९ गते, बिहीबार

काठमाडौं, २९ असार । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती । देशभित्र र बाहिर रहेका नेपालीले आदिकवि आचार्यको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति सदावहार रुपमा चर्चित छन् ।
भानुजयन्तीलाई विश्वभर रहेका नेपाली भाषीहरुले राष्ट्रिय चाडकै रुपमा मनाउँछन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ आसाम र डुवर्सलगायतका विशेष कार्यक्रम गरिन्छ । मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।
भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो । पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।

प्रतिक्रियाहरु