आजै फर्क साथी अहिलै फर्क – बलराम तिमल्सिना

२०७५ बैशाख ५ गते, बुधबार

फर्क साथी फर्क
एक भयानक विभ्रमबाट फर्क
गद्दार बनिने अधोगतिबाट फर्क
जो जो फर्कन सक्ने हालतमा छौ
आजै फर्क साथी अहिलै फर्क !

सके दलबल बनाएर फर्क
नसके एक्लै भने पनि फर्क
तिम्रो निधार कलङ्कको टीका थाप्न हैन
तिम्रो काँध सडेको लास बोक्न हैन
तिम्रा हात अश्लिलतामा ताली पिट्न होइन
तिम्रो जिब्रो झुटो बोल्न होइन
जो जो फर्कन सक्ने हालतमा छौ
आजै फर्क साथी अहिलै फर्क !

तिमी छापामार बनेको दिन संझ
भर्खर मुस्कुराइरहेको छापामारलाई
रुदै श्रध्दान्जली दिएको सम्झ
तिनका बाबा- आमा संझ
तिनका विधवा/ विदुर साथी संझ
संझ टुहुरा नानीहरू
तिम्रो आफ्नै जिन्दगी पनि संझ
जो जो संझन सक्ने हालतमा छौ
आजै संझ साथी अहिलै संझ !

मुठ्ठीभर गिरोहको अपराधवारे सोच
लाखौं सहयोध्दाको वेहालवारे सोच
यो आत्मसमर्पणको घिनलाग्दो बाटो
कहाँ पुगेर सकिने हो सोच
यो धोकाधडीको फोहोरी खेल
कति लाजमर्नु हुने हो सोच
तिमीले देखेको अर्ग्यानिक सपना
के यस्तै थियो त ? सोच
तिमीलाई गद्दार बनेर मर्ने मन
साँच्चै पलाएकै हो त ? सोच
संयोगले वाँचेको जिन्दगी
एत्तिकै विताइदिने हो त ? सोच
जो जो सँग सोच्ने आफ्नै टाउको छ
आजै सोच साथी अहिलै सोच !

समय अझै वाँकि छ साथी
आजै संझ अहिलै संझ
आजै सोच अहिलै सोच
आजै फर्क साथी अहिलै फर्क !

इतिहास गद्दारहरूको होइन
इमान्दारहरूको हो
कायरहरूको पनि हैन इतिहास
बहादुरहरूको हो
पिछलग्गु कटप्पाहरूको त झनै होइन
स्वाभिमानी सचेतहरूको हो
के तिमीलाई इमान्दारिता मन पर्दैन ?
आजै फर्क साथी अहिलै फर्क

म तिम्रो स्वागतमा
अंकमाल खोलेर बसेको छु
म हिजोको तिम्रै साथी
हामी सँगै बसेर रोएको संझ
सँगै बसेर हाँसेको संझ
हाँम्रो काँधमा अझै जिम्मेवारी छ साथी
जो जो सँग भारी वोक्ने काँध वाँकि छन्
र जो जो सँग वाँकि छन्
फर्कनको लागि एक जोर खुट्टाहरू
आजै फर्क साथी अहिलै फर्क !

प्रतिक्रियाहरु