असारदेखि वाइडबडी विमानको व्यावसायिक उडान

२०७४ चैत्र २३ गते, शुक्रबार

काठमाडौँ, २३ चैत । नेपाल वायुसेवा निगमले पहिलो ‘वाइडबडी’ विमानको व्यावसायिक उडान असारदेखि शुरु गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक निगमले अमेरिकी लिजिङ कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये पहिलो आगामी जेठको तेस्रो साता काठमाडौँ आउँदैछ । वाइडबडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको १५ दिनभित्र आवश्यक सबै प्रक्रिया पूरा गरी व्यावसायिक उडान गर्ने निगमको तयारी छ ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम व्यवस्थापन सुधारबारे हालै गरेको पत्रकार सम्मेलनका क्रममा निगमको वाइडबडी विमान जेठको तेस्रो साता आउने र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग उडानको अनुमतिलगायतका प्रक्रिया पूरा गरेपछि उडान शुरु गरिने बताएका थिए ।
विमान आएको दुईदेखि तीन हप्ताभित्र भन्सार प्रक्रिया तथा परीक्षण उडान गरी व्यावसायिक उडान शुरु गरिने उनको भनाइ छ ।
निगमले २०७३ चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा विमान २०९ दशमलब ६ मिलियन अमेरिकी डलर अर्थात २१ अर्ब ९० करोड रुपैयाँ पर्नेछ । उक्त सम्झौताअनुसार पहिलो विमान २०१८ को अप्रिलसम्म र दोस्रो विमान भने २०१८ कै मे महिनासम्ममा आउने भनिएको थियो । तर, झण्डै दुई महिनापछि पहिलो विमान आउने भएको हो ।
निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार २८० सिट यात्रु क्षमताको वाइडबडीे विमान आएको १५ दिनभित्र व्यावसायिक उडान शुरु गरिनेछ । पहिलो विमान आएलगत्तै अर्को विमान भित्र्याउने निगमको योजना छ । निगमको इतिहासमै पहिलोपटक नयाँ वाइडबडी विमान खरिद गरेर व्यावसायिक उडान भर्ने तयारीमा रहेको निगमले वार्षिक कम्तीमा रु पाँच अर्बको व्यापार बढ्ने दाबी गरेको छ ।
सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थपेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । विदेशबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा छ ।

प्रतिक्रियाहरु