अवैध संरचना हटाउन सातदिने समयसिमा

२०७६ माघ ४ गते, शनिबार

काठमाडौं, ४ माघ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन सातदिने समयसिमा तोकेको छ ।
पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले बनाईएका छाप्रा माघ ७ गतेसम्म भत्काउन निर्देशन दिएको हो ।
कोषका अनुसार, पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले कोषसँग अनुमति लिनुपर्छ । तर, अधिकांशले अनुमति नलिएरै वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आएका छन् ।
कोषको अनुमतिबेगर निर्माण भएका संरचनाले पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । पशुपति क्षेत्रभन्दा बाहिर कतिपयले निजी क्षेत्र अतिक्रमण गरेर टहरा तथा पाली बनाएका छन् । यसरी बनाइएका संरचनाका कारण पैदल यात्रु निर्वाध हिँड्डुल गर्न सकिरहेका छैनन् । यहीबीच कोषले त्यस्ता संरचना हटाउन पनि आग्रह गरेको हो ।
कोषले आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माघ ७ गतेसम्मको समय दिएको छ । निर्धा्रित समयभित्र पनि अटेरी गरेमा आफैंले त्यस्ता संरचना हटाउने चेतावनी कोषले दिएको छ । ‘आ–आफ्ना घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूलसडक तथा सहायक सडकमा हिँड्ने पैदलयात्रुहरूलाई असर पर्नेगरी राखिएका पाली टहरा नहटाएमा प्रचलित कानूनको अधीनमा रही कोष आफैं भत्काउन बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’, कोषद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार