अमेरिकी प्रस्तावविरुद्ध रुसद्वारा भिटो प्रयोग

२०७४ चैत्र २८ गते, बुधबार

काठमाण्डौ , २८ चैत । सिरियाको विद्रोही नियन्त्रित डुमा शहरमा गरिएको रासायनिक आक्रमणबारे स्वतन्त्र छानविन गर्न अमेरिकाले गरेको मागविरुद्ध रुसले सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको छ । रुसी विशेषधिकार भिटो प्रयोगसँगै अमेरिकाले सिरियामा सैन्य कारबाही गर्ने सम्भावना बढेको पनि बताइएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आफ्नो मुलुकको प्रस्ताव न्यूनतम प्रतिक्रिया भएको उल्लेख गरिन् । डुमामा सिरियाली फौजबाट गरिएको आक्रमणको जवाफ दिनुपर्नेमा अमेरिका, ब्रिटेन र फ्रान्स सहमत छन् । तर, राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेब्युन्जियाले सिरियाविरुद्ध कुनै योजना बनाइरहेको भए त्यसलाई त्याग्न वासिंटटनलाई आग्रह गरेका छन् ।
यसैबीच, सिरियामा गरिएको रासायनिक आक्रमणबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संगठनको टोली सिरिया प्रस्थान गरेको छ । अर्गनाइजेशन अफ प्रोहिबिसन अफ केमिकल वेपन्सको टोली सिरिया गएको हो । उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा हालै भएको रासायनिक आक्रमणका बारेमा ठोस कदम चाल्न भन्दै लेटिन अमेरिकी मुलुकको भ्रमण नै रद्द गरेका छन् । पेरुमा हुन लागेको अमेरिकी मुलुकहरुको शिखर सम्मेलनमै नगई ट्रम्प वासिंगटनमै रहने भएका हुन् । सम्मेलनमा भने उपराष्ट्रपति माइक पेस सहभागी हुनेछन् । सिरियाका राष्ट्रपतिलाई जनावरको संज्ञा दिएका ट्रम्पले सिरियाको ज्यादती अब धेरै दिन नटिक्ने चेतावनी दिए । सिरियामा हालै भएको रासायनिक आक्रमणमा ७० जना मारिएका थिए । रुस र सिरियाले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु