अमेरिकासँग युद्ध हुन सक्ने रुसको टिप्पणी

२०७४ चैत्र ३० गते, शुक्रबार

काठमाण्डौ ,३० चैत । रुसले सिरियाको अवस्थालाई लिएर अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला दुबैतर्फबाट आक्रमण गर्ने चेतावनी आइरहेका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ । उनले अमेरिका र उसका सहयोगी राष्ट्रले आफ्नो आक्रामक नीतिका कारण अन्तर्राष्ट्रिय शान्तिलाई खतरामा पारेको आरोप पनि लगाए । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ । ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीबारे कुनै निर्णय नगरे पनि सबै विकल्प खुला रहेको र कुनै पनि समय उचित निर्णय लिइने जनाएको छ । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा गरिएको रसायनिक आक्रमणमा थुप्रैं व्यक्ति मारिएपछि अवस्था तनावपूर्ण बनेको हो । आक्रमणमा सिरियाली सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने रुसले आरोप अस्वीकार गरेको छ । यही तनावपूर्ण वातावरणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले ट्विटरमार्फत रुसलाई उसको मित्रराष्ट्र सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ भन्ने सन्देश दिएका छन् । यता, बेलायतले भने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन माग गरेको छ । गत महिना रुसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको रसायनिक आक्रमण फेरि नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको हो । विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको जनाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु