अमेरिकाद्वारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धि

२०७६ जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् ।
मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी दिए । अवैध आप्रवासीको प्रवेश पूर्णरुपले बन्द नभएसम्म करबृद्धिको क्रम विस्तारै बढाउँदै लैजाने ट्रम्पको योजना छ ।
उता, मेक्सिकोले भने अमेरिकी कदमको विरोध गरेको छ । ट्रम्पको घोषणा कार्यान्वयनमा आए मेक्सिकोले पनि उचित जवाफ दिने प्रतिक्रिया उत्तर अमेरिकाका लागि मेक्सिकोका एक जना वरिष्ठ कूटनितिज्ञ जिसस सियादेले दिएका छन् । मेक्सिकोसँगको सिमामा पर्खाल लगाउने योजनामा रहेका ट्रम्पले आप्रवासी र वैदेशिक व्यापारको सवालमा सधैं कडा नीति लिँदै आएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु