अन्तर्राष्ट्रिय कन्डम दिवसका अवसरमा म्युजिक कन्सर्ट

काठमाडौं, २९ माघ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो ।
उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ । सुरुवातले स्थानीय सांगीतिक समूहसहित युवाको आकर्षण चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए । सांगीतिक कार्यक्रममार्फत युवालाई कण्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको उनको भनाइ थियो ।
संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम र्‍याली हुने जानकारी दिए । र्‍यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उनले बताए । एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए । – रासस

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>