अनसनरत डा.केसीको स्वास्थ्य बिग्रिँदै

२०७५ असार २४ गते, आईतवार

काठमाडौं ,२४ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमै अनसनरत डा.केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ । आमसरण अनसन बसेको नवौ दिन पुग्दा डा.केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । हाल डा. केसीको शरिरको मासु बाउँडिने, चक्कर लाग्ने, सेतो रक्तकोषहरु क्रमिक रुपमा घटेको र पिसावमा किटोन बढी भएको चिकित्सहरुले दैनिक स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरेका छन् । अहिले पिसावमा किटोन बढी देखिएकाले आईभी फ्ल्यूड दिएको छ । ‘डा.केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएकाले जतिखेर जे पनि हुन सक्छ, हामीले सक्ने जतिको उपचार गरिरहेका छौं तर उनलाई ५ दिनसम्म कैदीबन्दी सरह फोहोर कभडहलमा राखिएकालेपछि असर परेको हुनसक्छ ।’ टोलीको भनाई छ ।
नवौ दिन देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बुझ्न र आन्दोलन प्रति ऐक्यबद्धता जनाउन नेपाल चिकित्सक संघका केन्द्रिय वरिष्ठ उपाध्यक्षको टोली जुम्ला पुगेको छ । चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा. ढुण्डिराज पौडेल र सह कोषाध्यक्ष डा.प्रकाश बुढाथोकीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनसनरत डा.गोविन्द केसीलाई भेटि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौंमा अनसनरत हुँदा दैनिक भेटघाट भएर आन्दोलनका कार्यक्रमअरु सार्वजनिक गर्ने गरेपनि यस पटकको १५ औं आमरण अनशन कर्णालीमा भएकाले भेटघाट हुन नसक्दा आन्दोलनका कार्यक्रमहरु कसरी अघि बढाउने भन्ने विषयमा अलमल परेको चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डिराज पैडेलले बताए ।
‘देशभरका चिकित्सकहरुले शनिवार देखि कालोपट्टी बाँधेर सरकारले परिमार्जनसहित ल्याउन लागेको चिकित्सा शिक्षा विद्येयकको विरोध गर्दै काम थालेका छौं,’ उनले भने । ‘सरकारलाई ७२ घण्टे अल्टिमेटम दिइसकेका छौं यदि सरकारले सुनुवाइ गरेन भने कडा भन्दा कडा आन्दोलनमा उत्रिन्छौं ।’ डा.केसीको जीवनरक्षा प्रमुख माग भएको चिकित्सक संघका सहकोषअध्यक्ष डा.प्रकाश बुढाथोकीले बताए ।
‘डा.केसी आमरण अनसनमा बसेको आठ दिन बितिसक्दा पनि सरकारले कुनै सुनवाइ गरेका छैन,’ ‘अहिलेसम्म सरकारले वार्ता टोलि गठन गरिसक्नुपर्ने हो ।’ उनले भने । डा. केसीको आन्दोलनलाई कुनै पनि राजनीतिक रंग नदिन पनि चिकित्सक संघको टोलिले अनुरोध गरेको छ । सबै पार्टीको सरकार हुँदा डा. केसीले आन्दोलन गरेको स्मरण गर्न पनि टोलीले आग्रह गरेको छ ।

प्रतिक्रियाहरु