अखिल (क्रान्तिकारी)द्वारा सरकारलाई नेपाली भूमी अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती

२०७६ कार्तिक २० गते, बुधबार

काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले नेपालका शासक भारतीयलगायतका विदेशी शक्तिको दास भएको ठोकुवा गरेको छ । अखिल (क्रान्तिकारी)ले राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने वर्तमान ओली सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती समेत दिएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले आज एक विज्ञप्ति जारी गर्दै सो चुनौती दिएका हुन् । अध्यक्ष चिरन्जिबी ढकालले नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिल समेत गरेका छन । उनले अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपाल माथि भारतीय दादागिरीको अन्त्यका लागि अखिल (क्रान्तिकारी)ले यहि कात्तिक २० देखि २३ गतेसम्म वुद्धिजीवि, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने , २२ गते भारतीय दुतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा उजुरी दिने , २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन ।
यस बिषयमा अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकालले जारी गरेको विज्ञप्ति यस प्रकार रहेक छ –
” भारतीय शासकहरूले गत १६ कात्र्तिक २०७६ (2 November 2019) का दिन नेपालको कालापानी, लिपुलेक, कुटी, गुन्नी, नावी लगायतका भु–भागहरू (करिव ३७२ वर्ग किलोमिटर) लाई समेत समेटेर ‘भारतको नक्सा’ भनि सार्वजनिक गरेको नक्सा र भारतीय शासकहरूको यस्तो निच हर्कत प्रति हाम्रो गम्भिर ध्यानार्षण भएको छ । भारतीय शासकहरू बेलायतीहरूको दासत्वबाट मुक्त भएको ७ दशक बितिसक्दा पनि यिनीहरू दास मानसिकताबाट अझै ग्रसित र पिडित छन् भन्ने कुरा पुष्टि भएको छ । विगतमा करिव ३ शतक लामो दासत्व र गुलामीको जीवन बाँचेका भारतीय शासकहरूले एउटा स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियता र राष्ट्रिय अखण्डता माथि खेलवाड गर्ने, नेपाली जनतालाई दुव्र्यवहार गर्ने जस्ता कार्यले उनीहरूको मानसिक अवस्थाको चित्रण गर्दछ र हामी उनीहरूलाई नेपाल र नेपाली जनताको गौरवपूर्ण इतिहास एकपटक पढ्न आग्रह गर्दछौं । कथित लोकतन्त्रको खोल ओडेर, नेपालका दलाल शासकहरूलाई किनेर भारतीय शासकहरूले नेपाली भूमी लुटिरहेका छन् । हालसम्म भारतीय लुटेराहरूले ७८ हजार हेक्टर (करिव १५ लाख रोपनी) जमीन लुटेका छन् । भारतीयहरूको यस्तो घृणित र अनैतिक कार्यको हामी घोर भत्र्सना गर्दछौं ।
अहिले नेपालमा ‘नामका कम्युनिस्टहरू’को सत्ता छ तर यी शासकहरू तिनै भारतीय लगायतका विदेशी शक्तिको दलाली, चाकरी गर्दै तिनकै दास झैँ प्रतित भएका छन् । राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने वर्तमान दलाल ओली र उसको सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती दिन चाहन्छौं । नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाद्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा हामी विशेष अपिल गर्दछौं । अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपाल माथि भारतीय दादागिरीको अन्त्यका लागि हाम्रो संगठन निम्नानुसार संघर्षको कार्यक्रम घोषणा गर्दछौं ।
कार्यक्रम ः
 २० – २३ गते सम्म वुद्धिजीवि, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने
 २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने
 २२ गते भारतीय दुतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा उजुरी दिने
 २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने
 २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्ने ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु